काठमाडौं,
युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत सञ्चालित पत्रकारितालाई अब कानुनी र नीतिगत संरचनाभित्र ल्याउनुपर्ने माग पुनः बलियो रूपमा उठ्न थालेको छ। अनलाइन टिभी पत्रकार संघ, नेपालले यस्ता प्लेटफर्ममार्फत पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरू ‘साइबर कानुन’को फन्दामा पर्न थालेको भन्दै गम्भीर चासो व्यक्त गर्दै यथाशीघ्र स्पष्ट कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
संघका अध्यक्ष जीवन भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “छ वर्षअघि मैले देखेको खतरा आज जुनियरहरू हुँदै सिनियर पत्रकारहरूलाई पनि पर्न थालेको छ, जुन अति दुर्भाग्यपूर्ण छ।” उनले युट्युबर र सामाजिक सञ्जाल प्रयोग गरेर पत्रकारिता गर्नेहरूलाई कानुनी सुरक्षाको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
हालै वरिष्ठ पत्रकार दिलभूषण पाठक र नारायण अर्यालमाथि प्रहरीले देखाएको व्यवहारको संघले घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “कानुनको व्याख्या शब्दमा होइन, मर्ममा हुनुपर्छ।”
भण्डारीले सामाजिक सञ्जालमा पत्रकारिता गरिरहेकाहरूलाई केवल होच्याउने दृष्टिकोण होइन, व्यवहारिक रूपमा नियमन गर्ने नीति आवश्यक रहेको बताए। “अब पनि ‘युट्युबेलाई पत्रकार बनाउने हो?’ भन्दै होच्याउने होइन, यथार्थ चिन्न जरुरी छ। पत्रकारिता गरिरहेका सबै प्लेटफर्मलाई विधिको दायरामा ल्याउनु नै समयको माग हो,” उनले भने।
उनले पत्रकारिताका मूल्य, मान्यता र आचारसंहिता पालना हुने गरी यस्ता प्लेटफर्मलाई कानुनी संरक्षण दिनु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताए। संघले राज्य, नियामक निकाय, प्रेस काउन्सिललगायत सबै पक्षसँग सहकार्य गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
संघकाे विज्ञप्ति











प्रतिक्रिया दिनुहोस्