२०८३ कात्तिक १६ , आइतबार
ताजा अपडेट:

छोरीको अश्लील भिडिओ देखाएर आमासँगै ‘ब्ल्याकमेल’ रेडकर्नर नोटिसपछि ओमानबाट पक्राउ



२०८३ असोज ४ गते

समाचार सारांश
Generated Using AI
  • नाबालिकालाई विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षीय बिमल राजवंशी पक्राउ।
  • करणीको भिडिओ बनाएर सार्वजनिक गरिदिने भन्दै किशोरीलाई निरन्तर ब्ल्याकमेल र धम्की दिएको अभियोग।
  • ओमान पुगेपछि फेक फेसबुक अकाउन्ट बनाएर पीडितकी आमालाई समेत अश्लील सामग्री पठाउँदै धम्की दिएको आरोप।
  • इन्टरपोलको रेडकर्नर नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएका राजवंशीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठायो।

झापा ।

नाबालिकालाई प्रेमको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्ने र विदेश पुगेपछि पीडितकी आमालाई समेत धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

झापाको बिर्तामोड–३ का २५ वर्षीय बिमल राजवंशीलाई इन्टरपोलको रेडकर्नर नोटिसका आधारमा ओमानबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ। नेपाल ल्याइएपछि उनीविरुद्ध झापा जिल्ला अदालतमा जबरजस्ती करणी तथा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय झापाले अदालतमा पेस गरेको अभियोगपत्रअनुसार राजवंशीले २०८१ जेठ ४ गते फेसबुकमार्फत चिनजान भएकी १७ वर्षीया किशोरीलाई विवाह गर्ने आश्वासन दिँदै चन्द्रगढी बजारमा बोलाएका थिए। त्यसपछि उनलाई बिर्तामोडस्थित एक होटलमा लगेर जबरजस्ती करणी गरेको अभियोग छ।

करणीका क्रममा किशोरीको अनुमतिबिना अश्लील भिडिओसमेत खिचेको र त्यही भिडिओ सार्वजनिक गरिदिने तथा आफन्तलाई पठाइदिने धम्की दिँदै निरन्तर मानसिक दबाब दिएको अभियोगपत्रमा उल्लेख छ।

पीडित किशोरीसँगको सम्बन्ध बिग्रिएपछि राजवंशी वैदेशिक रोजगारीका लागि ओमान पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ओमान पुगेपछि उनले किशोरीसँग सम्पर्क गर्न नपाएपछि फेक फेसबुक अकाउन्ट बनाएर पीडितकी आमालाई समेत सम्पर्क गरेको अभियोगपत्रमा उल्लेख छ।

२०८२ फागुन ५ गते बिहान उनले उक्त फेक आईडीमार्फत आमाको मेसेन्जरमा छोरीका अश्लील तस्बिर तथा भिडिओ पठाएको आरोप छ।

आमाले ती सामग्री हटाउन र छोरीको बदनाम नगर्न आग्रह गरे पनि राजवंशीले उल्टै आमासँग अश्लील तस्बिर मागेको र नपठाए छोरीका सामग्री अन्य व्यक्तिमाझ सार्वजनिक गरिदिने धम्की दिएको अभियोगपत्रमा उल्लेख छ।

लगातारको ब्ल्याकमेल र धम्कीबाट पीडित किशोरी तथा उनकी आमाले २०८२ फागुन १२ गते जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले विदेशमा रहेका राजवंशीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाउँदै इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेको थियो। सोही नोटिसका आधारमा ओमान प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो।

नेपाल ल्याइएपछि २०८३ भदौ १५ गते अनुसन्धान अधिकृतसमक्ष बयान दिँदा राजवंशीले घटनासम्बन्धी आरोप स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ। अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेका अडियो संवाद, भिडिओ तथा फेक फेसबुक अकाउन्टसमेत आफ्नै भएको उनले सनाखत गरेको बताइएको छ।

झापा जिल्ला अदालतले राजवंशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश अम्बिकाप्रसाद दाहालको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।

सरकारी वकिल कार्यालयले नाबालिकामाथि भएको जबरजस्ती करणीका लागि मुलुकी अपराध संहिताको सम्बन्धित प्रावधानअनुसार १० देखि १२ वर्षसम्म कैद सजाय, ५ लाख रुपैयाँ जरिबाना तथा पीडितलाई क्षतिपूर्तिको मागदाबी गरेको छ।

त्यसैगरी विद्युतीय माध्यमबाट अश्लील सामग्री प्रकाशन तथा सार्वजनिक गरी चरित्र हत्या र हैरानी गराएको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत थप सजायको माग गरिएको छ।

 

अनुसन्धानका क्रममा प्रहरीले राजवंशीले प्रयोग गरेको भनिएका दुईवटा फेक फेसबुक अकाउन्टको विवरण संकलन गरेको छ।

पीडित पक्षले प्रहरीलाई बुझाएको पेनड्राइभमा रहेका अश्लील भिडिओ, तस्बिर तथा अडियो संवादलाई समेत प्रमाणका रूपमा मिसिलमा समावेश गरिएको छ। प्रतिवादीको मोबाइल फोन डिजिटल फोरेन्सिक परीक्षणका लागि पठाइएको र त्यसको प्रतिवेदन प्राप्त भएपछि अदालतमा पेस गरिने अभियोगपत्रमा उल्लेख छ।

घटनाको संवेदनशीलता र पीडितको गोपनीयतालाई ध्यानमा राख्दै मुद्दाको सुनुवाइ बन्द इजलासबाट गर्न सरकारी वकिल कार्यालयले अदालतसमक्ष माग गरेको छ।

 

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतबार