२०८३ साउन १२ , मंगलबार
ताजा अपडेट:

५२.७८ प्रतिशत रकम भुक्तानी, काम भने अलपत्र सान्तिघाट–सिपखाना सडकका ठेकेदारलाई ठेक्का तोड्ने चेतावनी



कालिकोट।

वर्षौँदेखि निर्माणाधीन सान्तिघाट–सिपखाना कालोपत्रे सडक आयोजनाको काम अलपत्र परेपछि रास्कोट नगरपालिकाले निर्माण व्यवसायी र सम्बन्धित निकायलाई कडा चेतावनी दिएको छ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय कालिकोटबाट ठेक्का लगाइएको उक्त सडक निर्माणको जिम्मा के.एस. शान्तिदेव जे.भी.ले पाएको थियो। आयोजनाको निर्माण सम्झौता २०७८ साल असार ६ गते भएको थियो। पटक–पटक म्याद थपिएपछि पनि २०८३ साल असार १ गतेभित्र काम सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकामा हालसम्म निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन।

सडक समयमै नबन्दा रास्कोटवासी वर्षौँदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सडकको दयनीय अवस्थाका कारण यातायात सञ्चालन, शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा दैनिक जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक मौखिक तथा लिखित रूपमा काम तीव्र बनाउन निर्देशन र ध्यानाकर्षण गराइएको थियो। आवश्यक जनशक्ति, उपकरण र निर्माण सामग्री परिचालन गरी सम्झौताअनुसार काम सम्पन्न गर्न आग्रह गरिए पनि ठेकेदारले अपेक्षित सक्रियता नदेखाएको नगरपालिकाको आरोप छ।

आयोजनाको काम सन्तोषजनक रूपमा अघि नबढे पनि हालसम्म सम्झौता रकमको ५२.७८ प्रतिशत बराबरको रनिङ बिल भुक्तानी भइसकेको नगरपालिकाले जनाएको छ। रकम भुक्तानीको अनुपातअनुसार निर्माण प्रगति नदेखिएको भन्दै स्थानीयस्तरमा ठेकेदार र आयोजना कार्यालयप्रति आक्रोश बढेको छ।

रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को सुरुवातदेखि नै निर्माण व्यवसायीलाई पूर्ण रूपमा निर्माणस्थलमा परिचालन गरी कालोपत्रेको काम युद्धस्तरमा अघि बढाउन पूर्वाधार विकास कार्यालय कालिकोटको ध्यानाकर्षण गराएको छ।

नगरपालिकाले नयाँ आर्थिक वर्षको सुरुवातपछि पनि काम प्रभावकारी रूपमा सञ्चालन नगरे वा सम्झौताअनुसार सन्तोषजनक प्रगति हासिल नभए सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तअनुसार ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाउन औपचारिक पहल गरिने चेतावनी दिएको छ।

नगर प्रमुख धर्मराज शाहीले रास्कोटवासीलाई सहज, सुरक्षित र गुणस्तरीय सडक सुविधा उपलब्ध गराउनु नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताएका छन्। उनले आयोजना शीघ्र सम्पन्न गराउन नगरपालिका आवश्यक दबाब, समन्वय र कानुनी पहलबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

वर्षौँसम्म सडक निर्माणको नाममा स्थानीयवासीलाई धुलो, हिलो र सास्तीमा राख्ने प्रवृत्ति अब स्वीकार्य नहुने नगरपालिकाको संकेत छ। ठेकेदारले तत्काल काम तीव्र नबढाए सान्तिघाट–सिपखाना सडकको ठेक्का नै संकटमा पर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार