२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

सुर्खेतमा विद्युत प्राधिकरणको लापरबाही? २६ घण्टादेखि विद्युत अवरुद्ध, नागरिक सास्तीमा



 

सुर्खेत असार १५

सुर्खेतमा २६ घण्टादेखि विद्युत आपूर्ति अवरुद्ध हुँदा स्थानीय नागरिकले ठूलो सास्ती खेप्नुपरेको बताएका छन्। सामान्य प्राविधिक समस्या (फोल्ट) हुँदा पनि समयमै मर्मत हुन नसक्दा विद्युत सेवा प्रभावित भएको गुनासो बढ्दै गएको छ।

नाम नबताउने सर्तमा नेपाल विद्युत प्राधिकरण का एक कर्मचारीका अनुसार सुर्खेत भ्यालीभरिका विद्युत लाइनको मर्मत तथा व्यवस्थापनका लागि जम्मा चारवटा प्राविधिक टोली मात्र परिचालन हुने गरेका छन्। ती टोलीलाई आवश्यक पर्दा भ्याली बाहिरसमेत खटिनुपर्ने भएकाले सामान्य फोल्टसमेत समयमै मर्मत गर्न कठिन हुने गरेको उनले बताए।

लामो समयसम्म विद्युत नहुँदा दैनिक जनजीवन प्रभावित भएको छ। विद्युत नहुँदा खानेपानी वितरणसमेत प्रभावित भएकाले नागरिकले दोहोरो समस्या झेल्नुपरेको स्थानीय कमल शाही ले गुनासो गरेका छन्। “बत्ती पनि छैन, खानेपानी पनि आउँदैन। हामी नागरिकले निकै दुःख पाएका छौं,” उनले भने।

स्थानीयका अनुसार सुर्खेतमा दिनमा १० देखि १२ पटकसम्म विद्युत जाने–आउने समस्या सामान्यजस्तै भइसकेको छ। बारम्बारको विद्युत अवरोधका कारण विद्यार्थीको अध्ययन, व्यवसाय, कार्यालय तथा घरायसी कामकाजसमेत प्रभावित हुँदै आएको उनीहरूको भनाइ छ।

विद्युत प्राधिकरणले पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन गर्दै सेवा सुधार गर्न, विद्युत अवरोधको वास्तविक कारणबारे स्पष्ट जानकारी दिन तथा समयमै मर्मत कार्य सम्पन्न गर्न स्थानीयले माग गरेका छन्।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार