कालिकोट
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा वर्तमान कालिकोट जिल्लाका प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगर स्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या अत्यन्तै दर्दनाक र निन्दनीय घटना भएको बताएका छन्।
शाहीले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो जघन्य अपराध गर्ने दोषीलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन्। उनले निर्दोष किशोरीले न्याय पाउनुपर्ने र यस्ता अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने स्पष्ट बताएका छन्।
उनका अनुसार यस्ता अमानवीय घटनाहरू अझै पनि समाजमा भइरहनु अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो। महिलाको सुरक्षा, न्याय र मानवताको पक्षमा अब सम्पूर्ण समाज एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।
शाहीले पीडित किशोरी इनिशा विकलाई न्याय दिलाउन र अपराधीलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै उनले यस्ता घटनाहरू दोहोरिन नदिन राज्यका निकायहरू अझ जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
“इनिशा विकलाई न्याय देऊ, अपराधीलाई कडा कारबाही गर,” भन्दै उनले पीडित परिवारप्रति समवेदना व्यक्त समेत गरेका छन्।










प्रतिक्रिया दिनुहोस्