अशाेक शाही
कैलाली, टीकापुर
समाचार सारांश
- देशका विभिन्न भागमा निःशुल्क खगोल विज्ञान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी ७० हजारभन्दा बढी विद्यार्थी तथा विज्ञानप्रेमीलाई खगोल विज्ञानबारे जानकारी गराइसकेका छन्।
- यस वर्षको नासा स्पेस एप्स च्यालेन्ज २०२५ को लागि नेभिगेटरको रूपमा चयन गरेको छ।
- नासाले हरेक वर्ष आयोजना गर्ने यो च्यालेन्जले विश्वभरका विज्ञान र प्रविधिका क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई एकै ठाउँमा ल्याएर अन्तरिक्ष अन्वेषण र पृथ्वी विज्ञान सम्बन्धी समस्याहरूको समाधान खोज्न प्रेरित गर्छ।
- अरुण लोहार जस्तो युवाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित कार्यक्रममा नेभिगेटरको भूमिका पाउनु टीकापुर र सिंगो देशकै लागि गौरवको कुरा हो।
२०८२ साउन १ गते
टीकापुरकै युवा अरुण लोहारले खगोल विज्ञानको क्षेत्रमा उदाहरणीय काम गर्दै आएका छन्।
उनले टीकापुर लगायत देशका विभिन्न भागमा निःशुल्क खगोल विज्ञान सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी ७० हजारभन्दा बढी विद्यार्थी तथा विज्ञानप्रेमीलाई खगोल विज्ञानबारे जानकारी गराइसकेका छन्।
खगोल विज्ञानमा उनको सक्रिय योगदानलाई कदर गर्दै नासाले उनलाई यस वर्षको नासा स्पेस एप्स च्यालेन्ज २०२५ को लागि नेभिगेटरको रूपमा चयन गरेको छ।
नेभिगेटरको रूपमा, अरुण लोहारले विश्वभरबाट सहभागी हुने विद्यार्थी, नवप्रवर्तक, वैज्ञानिक, प्रोग्रामर, डिजाइनर, शिक्षक र उद्यमीहरूलाई मार्गदर्शन गर्नेछन्।
उनीहरूले पेस गर्ने योजना, परियोजना र प्रोजेक्टहरूको मूल्याङ्कन गर्ने अवसर पनि उनले पाउनेछन्। नासाले हरेक वर्ष आयोजना गर्ने यो च्यालेन्जले विश्वभरका विज्ञान र प्रविधिका क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई एकै ठाउँमा ल्याएर अन्तरिक्ष अन्वेषण र पृथ्वी विज्ञान सम्बन्धी समस्याहरूको समाधान खोज्न प्रेरित गर्छ।
अरुण लोहार जस्तो युवाले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित कार्यक्रममा नेभिगेटरको भूमिका पाउनु टीकापुर र सिंगो देशकै लागि गौरवको कुरा हो। उनको यो सफलताले अन्य युवाहरूलाई पनि विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
टीकापुरबासीले अरुण लोहारलाई बधाई तथा शुभकामना दिएका छन् र उनको आगामी यात्राको सफलताको कामना समेत गरेका छन्।










प्रतिक्रिया दिनुहोस्