२०८३ साउन ११ , सोमबार
ताजा अपडेट:

बाजुराको हिमालीमा जीप दुर्घटना, चालकसहित ९ जना घाइते



अशाेक कुमार शाही

बाजुरा, साउन ४ —

बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा शनिबार भएको जीप दुर्घटनामा चालकसहित ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब १:२५ बजे धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८७८ नम्बरको जीप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कुवाडीबाट प्रहरी सहायक निरीक्षक चित्रबहादुर मल्लको नेतृत्वमा ४ जना तथा इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी सहायक निरीक्षक भीमसिंह धामीको नेतृत्वमा ४ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाएको जनाएको छ।

दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढा टाउकोमा चोट लागेर मध्यम अवस्थामा घाइते भएका छन्। त्यसैगरी धर्मलाल बुढा (४०) र मिजरा बुढा (३१) पनि टाउकोमा चोट लागेर मध्यम अवस्थामा रहेका छन्।

यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका–५ का अम्मर सिंह बुढा (४०) ढाड र खुट्टामा चोट लागेर मध्यम अवस्थामा छन्। अस्मिता थापा (२०) को कम्मरमा, जंगसिंह बुढा (२८) को हातमा, गोरख रोकाया (२०) को हात र टाउकोमा, लोकेन्द्र बुढा (२७) को हातमा तथा ९ वर्षीया सुस्मा बुढाको आँखामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार