कञ्चनपुर,
प्रगतिशील लोकतान्त्रिक पार्टी कञ्चनपुर जिल्ला कमिटीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको एकल नाम सिफारिस गरेको छ।
भिमदत्तनगरस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का लागि तीन नेताको नाम सर्वसम्मत रूपमा प्रदेश पार्टी कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
जिल्ला कमिटीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट देपेन्द्र बहादुर शाही क्षेत्र नम्बर २ बाट टेकेन्द्र प्रसाद भट्ट र क्षेत्र नम्बर ३ बाट लक्ष्मी दत्त जोशीलाई प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा एकल सिफारिस गरिएको छ।
पार्टीले संगठनप्रति निष्ठावान्, जनआधार बलियो भएका तथा लामो समयदेखि राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय नेताहरूलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ। आगामी निर्वाचनमा कञ्चनपुरमा पार्टीको उपस्थिति सुदृढ बनाउने र जनताको विश्वास जित्ने उद्देश्यले एकल सिफारिस गरिएको पार्टीको दाबी छ।
जिल्ला संयोजक अमर सिंह विष्ट र जिल्ला इन्चार्ज राम बहादुर देवकर (रक्तबिच) को हस्ताक्षरसहित सिफारिस पत्र प्रदेश पार्टी कार्यालय धनगढी, कैलाली पठाइएको छ। सिफारिस पत्रमा केन्द्रबाट आवश्यक निर्णय गरी उम्मेदवारलाई औपचारिक रूपमा अघि बढाउन अनुरोध गरिएको उल्लेख छ।
उम्मेदवार सिफारिससँगै प्रगतिशील लोकतान्त्रिक पार्टी कञ्चनपुरले जिल्लामा चुनावी गतिविधि तीव्र बनाउने तयारीसमेत थालेको छ। पार्टी नेतृत्वले जनमुखी एजेन्डा, संगठन विस्तार र अनुशासित चुनावी अभियानमार्फत आगामी निर्वाचनमा सकारात्मक नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेको छ।










प्रतिक्रिया दिनुहोस्