२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

दिल्लीको इन्डिया गेटमा एक नेपाली युवाको ‘साहसी चुनौती’: गौतम बुद्ध नेपालमै जन्मेको भन्दै प्रचार



काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध ‘इन्डिया गेट’ मा एक नेपाली युवाले राष्ट्रिय स्वाभिमानको प्रदर्शन गर्दै बुद्ध नेपालमै जन्मेको सन्देश दिएका छन्। बाबु  रोका मगरले इन्डिया गेटमै गएर भारतीयहरूलाई सीधै चुनौती दिँदै नेपाल र गौतम बुद्धको बारेमा व्यापक प्रचारप्रसार गरेका हुन्।

युवा बाबु  रोका मगरका अनुसार, इन्डिया गेट अवलोकन गर्ने क्रममा उनलाई दुई भारतीय युवाले नेपाल र नेपाली नागरिकताबारे अपमानजनक टिप्पणी गरेका थिए। “नेपाल हमारा प्रान्त है, नेपाली लोग हमारे देश के नोकर है,” भन्नेजस्ता भनाइ सुनेपछि आफूलाई निकै रिस उठेको उहाँ बताउनुहुन्छ।

उहाँले तत्काल ती भारतीय युवाहरूसँग प्रतिवाद गर्दै नेपाल एउटा अलग र स्वतन्त्र राष्ट्र भएको र यसको आफ्नै भाषा तथा संस्कृति रहेको स्पष्ट पार्नुभएको थियो।
बहसका क्रममा ती युवाहरूले ‘भारतीय पैसा नेपालमा चल्ने, नेपालीहरू भारतीय सेना, पुलिस र दफ्तरहरूमा कार्यरत रहेकाले नेपाल पनि भारतकै एक हिस्सा हो’ भन्ने तर्क राखेका थिए। करिब एक घण्टा लामो सो बहसले आफ्नो मनमा राष्ट्रवादी आगो दन्काएको मगर बताउँछन्।

सो घटनाको एक हप्तापछि, आक्रोशित मगरले नेपाली झन्डासहित इन्डिया गेटमा पुगेर साहसी कदम चाले। उहाँले त्यहाँ भेला भएका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई नेपालको स्वतन्त्रता, स्वाभिमान र सबैभन्दा महत्त्वपूर्ण कुरा, गौतम बुद्ध नेपालमै जन्मेको ऐतिहासिक सत्यबारे खुलेर प्रचारप्रसार गर्नुभएको थियो। यस कदमलाई मगरले ‘भारतलाई सिधै चुनौती’ दिएको रूपमा लिएका छन्।

युवा मगरले आफ्नो सो कार्यलाई ‘राष्ट्रवादी विचार’ सँग जोड्नुभएको छ। उहाँ भन्नुहुन्छ, “हो म हरामी छु, मलाई जातिवादी भन्नेहरूले मेरो राष्ट्रवादी विचारलाई कहिल्यै जान्ने बुझ्ने कोसिस गर्‍यौ त?”
उहाँले अन्त्यमा, ‘देश शब्दमा होइन, व्यवहारमा बुझौं र बोलौं’ भन्दै सम्पूर्ण नेपालीलाई राष्ट्रियताप्रति जागरुक हुन आह्वान गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार