अशाेक शाही
२०८२ साउन ८गते
काठमाडौं –
गत आर्थिक वर्षमा उत्पादन भएको उखुको अनुदान रकम भुक्तानीको माग गर्दै उखु किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।
उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समितिलगायतका संघ संस्थाहरूले संयुक्तरूपमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
किसानहरूले सरकारले प्रति क्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने अनुदान रकम कटौती गरेको भन्दै त्यसको तत्काल भुक्तानीको माग राखेका छन्।
उनीहरूले प्रदर्शनमा ‘एकतर्फी मूल्य स्वीकार छैन’, ‘उखु कृषकको शोषण बन्द गर’, ‘उखु अनुदान भुक्तानी गर’, र ‘मूल्य निर्धारणमा कृषकलाई सहभागी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
प्रदर्शनमा बोल्दै उखु उत्पादक संघ महोत्तरीका पूर्व अध्यक्ष उत्तम सिंह रानाले विगतका वर्षहरूमा सरकारले नियमितरूपमा दिँदै आएको अनुदान रकम यस वर्ष कटौती गरेकोमा आक्रोश व्यक्त गरे।
उनले भने, “विगतमा हरेक वर्ष हामीले प्रति क्विन्टल ७० रुपैयाँ अनुदान पाइरहेका थियौँ। तर यस वर्ष सरकारले त्यो रकम कटौती गरिदिएकाले हामी सडकमा आउन बाध्य भयौँ। हामीले पाइआएको रकम सरकारले अविलम्ब भुक्तानी गर्नुपर्छ भन्ने हाम्रो माग हो।”
उखु किसानहरूले यसअघि पनि विभिन्न समयमा अनुदान र बक्यौता रकमको भुक्तानीको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका छन्। यसपटक पनि उनीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
यदि सरकारले किसानहरूको समस्या समाधान नगरेकाे खण्डमा थप आन्दोलन चर्काउने किसान उखु किसान देपेन्द्र बहादुर शाहीले बताउनु भएकाे छ ।












प्रतिक्रिया दिनुहोस्