२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

सुर्खेतमा करेन्ट लागेर दम्पतीको दुःखद निधन



अशाेक

वीरेन्द्रनगर, सुर्खेत।

सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारेमा बिहीबार घाँस काट्ने क्रममा करेन्ट लागेर एक दम्पतीको दुःखद निधन भएको छ। यो मर्मस्पर्शी घटनाले स्थानीय समुदायमा गहिरो शोक छाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, बिहीबार दिउँसो आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस टुक्र्याउने क्रममा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय करेन्टको सम्पर्कमा आएका थिए। करेन्ट लागेलगत्तै दुवै जना गम्भीर रूपमा घाइते भएका थिए।

घटनालगत्तै स्थानीय बासिन्दा र परिवारका सदस्यले तत्काल उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएका थिए। तर, अस्पताल पुगेर उपचार सुरु गर्दागर्दै दुवैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ताले जानकारी दिएका छन्।

धनिराम आचार्य र धनकुमारी उपाध्यायको निधनले नेवारे गाउँ शोकमा डुबेको छ। मिलनसार स्वभावका दम्पतीको अचानकको निधनले परिवारजन र छिमेकीहरू स्तब्ध भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार