काठमाडौं
असार २३
प्रतिनिधि सभा सदस्य माननीय सांसद महेन्द्र बहादुर शाहीले झापाको भ्यू टावरका लागि छुट्याइएको बजेट कर्णाली करिडोरमा लगानी गरेको भए सडक दुर्घटनाबाट हुने क्षति कम हुने बताएका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा कर्णाली नदीमा निर्मित बेलिब्रिजको प्रधानमन्त्रीले भर्खरै उद्घाटन गरेपछि कर्णाली राष्ट्रिय सडक सञ्जालमा जोडिएको सन्दर्भमा प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले यस्तो धारणा व्यक्त गरेका हुन्।
सांसद शाहीले पुल उद्घाटन गरेर कर्णालीवासीको सपना साकार नहुने जिकिर गरे। उनले कर्णाली राजमार्गलाई ‘मृत्यु राजमार्ग’को उपनाम दिइरहेको बेला पुल उद्घाटन गरेर मात्र सडक संचालन नहुने बताए। उक्त राजमार्गको स्तरउन्नति गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले कर्णाली राजमार्गमा सडक दुर्घटनामा परी १७ सयभन्दा बढीले ज्यान गुमाइसकेको तथ्यांक प्रस्तुत गरे।
कर्णाली करिडोरको अवस्था अझै पनि अस्तव्यस्त रहेको बताउँदै सांसद शाहीले एउटा खोलाको पुल उद्घाटन गरेर भारत र चीनलाई जोड्ने सडक खुलेको भन्नु आपत्तिजनक भएको टिप्पणी गरे। “यस्तै पुल सयौं खोलामा आवश्यक छ,” उनले भने, “पुल नहुँदा हुम्ला जाने गाडीहरु कालिकोटमा थन्किनुपर्ने बाध्यता अझै हटेको छैन।” ठेकेदारको लापर्वाहीले सयौं पुल अलपत्र परेको भन्दै उनले कर्णाली करिडोरका सबै खोलामा पुल निर्माण गर्न सरकारलाई आग्रह गरे।
मनसुन सुरु भइसकेको र पहाडी तथा हिमाली जिल्लामा बाढीपहिरोको उच्च जोखिम रहेकाले यसको पूर्व तयारी थाल्न पनि सांसद शाहीले सरकारसँग माग गरेका छन्।
उनले बाढीपहिरो गएपछि नेपाली सेनाको हेलिकप्टर उडाएर चाउचाउ बिस्कुट वितरण गर्नुभन्दा उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र प्रत्येक जिल्लामा उद्धार टोली बनाएर तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए। विपदका घटनाबाट जनधनको क्षति हुन नदिन सरकारले अहिले नै विशेष पहल लिनुपर्ने शाहको भनाई थियो।










प्रतिक्रिया दिनुहोस्