२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

बेलौरी मेयरको ११ बुँदे ज्ञापनपत्र: हुलाकी सडकदेखि सीमा सुरक्षासम्मका सरकार सँग माग पुर्व प्रधानमन्त्री भट्टराई मार्फत बुझए ज्ञापन पत्र



कञ्चनपुर, २२ गते ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई मार्फत नेपाल सरकारलाई ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

बेलौरी नगरपालिकामा सञ्चालन गर्नुपर्ने विभिन्न योजनाहरु र सीमा क्षेत्रमा भारतीय एसएसबीबाट हुने ज्यादती रोक्न सरकारको ध्यानाकर्षण गराउँदै मेयर चौधरीले भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा बेलौरी नगरपालिका अन्तर्गतका महत्वपूर्ण योजनाहरुका लागि नेपाल सरकारका विभिन्न मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।

अध्यक्ष भट्टराईले उक्त ज्ञापन पत्रलाई ध्यानपुर्वक अध्यायन गर्दै अति संवेदनशील बुधाहरुलई राेताे मार्क गर्दै आफ्नाे फेसबुक मार्फत पाेस्ट समेत गर्नु भएकाे छ ।

मेयर चौधरीले बुझाएको ज्ञापनपत्रमा निम्न मागहरु रहेका छन .

१) हुलाकी सडकको ठेक्का सम्झौता भएको आठ वर्ष भइसक्दा पनि काम सम्पन्न नभएकाले यसका लागि पहल गर्न र जनसंख्या वृद्धिलाई ध्यानमा राख्दै चार लेनको सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गरिदिन अनुरोध गरिएको छ ।
२) बेतौरी घोटी भन्सारलाई स्तरोन्नति गरी भन्सार नाकाका रुपमा स्थापना गर्न पहल गरिदिन अनुरोध गरिएको छ ।
३) बौरीनमेकी राष्ट्र भारतको सीमासँग जोडिएका वडाहरुमा नेपाली जग्गाधनी प्रमाणपुर्जा भए पनि भारतीय एसएसबीले अवरोध गर्दा भोगचलन गर्न नपाएकोले उक्त जग्गा भोगचलनको सुनिश्चितता र सीमासँग जोडिएका जग्गाहरुमा बन्धक कारोबार गर्न पाउने कानूनी व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरिएको छ । यस विषयमा बेलौरी नगरसभाबाट निर्णय गरी नेपाल सरकारलाई जानकारी गराइए पनि सुनुवाई नभएको ज्ञापनपत्रमा उल्लेख छ ।
४) निर्माणाधीन बेलौरी कलुवापुर सडक खण्डअन्तर्गत राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको अधुरो सडक खण्ड निर्माणमा राष्ट्रिय निकुञ्जले रोक लगाएकाले समस्या समाधान गरी निर्माण कार्य सम्पन्न गर्न पहल गरिदिन अनुरोध गरिएको छ ।
५) नदी कटानबाट बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकालाई उच्च जोखिममा पारेको पोद्य नदी नियन्त्रणका लागि चान्देवदेवी पुनर्वाससम्म तटबन्ध निर्माण गर्न गुरुयोजना बनाई बजेट विनियोजनका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
६) २०५८ सालमा शुक्लाफाँटा विस्तारका क्रममा विस्थापित भएका परिवारहरुको समस्या समाधानका लागि विभिन्न ३२ वटा आयोग बने पनि समस्या समाधान हुन नसकेकोले यथाशीघ्र ती विस्थापित परिवारहरुको व्यवस्थित रुपमा व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
७) बेलौरी छोटी भन्सारदेखि कलुवापुरसम्मको ४ किलोमिटर कालोपत्रे सडकका रुपमा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।
८) बेलौरी न.पा. ५ मा रहेको गोभाताल पर्यटकीय क्षेत्रको डीपीआर तयार भई निर्माण कार्य सुरु भए पनि बजेट अभावले निर्माण कार्य अधुरो रहेकाले थप बजेट व्यवस्थाका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
९) बेलौरी न.पा. मा रहेको बन्दाताल पर्यटकीय क्षेत्र नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार नेपालको १०० वटा पर्यटकीय क्षेत्रको रुपमा सूचीकृत भई डीपीआर तयार गरी निर्माण कार्य सुरु गरिसकेको भए पनि बजेट अभावका कारण निर्माण कार्य अधुरो रहने भएकाले आवश्यक थप बजेट व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।
१०) केही मुक्त कमैयाहरु हालसम्म पनि परिचयपत्रबाट वञ्चित भएकाले परिचयपत्र र सरकारबाट पाउने सेवा सुविधाका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।
११) बेलौरी न.पा. वडा नं. ८ स्थित हुलाकी सडकको ३८ नं. पिल्लर भारतीय एसएसबीले नेपाली भूमिमा पर्ने भागमा सडक निर्माण गर्न रोकेको हुँदा निर्माण कार्य सुचारु गर्न आवश्यक कूटनीतिक पहल गरी दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।

ज्ञापनपत्र यस्तो  छ ।

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार