२०८३ कात्तिक १६ , आइतबार
ताजा अपडेट:

उपचार गर्ने अस्पताल बन्यो, चलाउने चासो भएन : लाखौँको संरचना बन्याे गाँजाको जंगलमा 



१२ असोज,  कालीकोट ।

समाचार सारांश
Generated Using AI
  • **१.** जनताको उपचारका लागि बनाइएको कालिकोटको पचालझरना–९ लाटुरेको स्वास्थ्य संरचना अहिले झाडीले ढाकिँदै गएको छ। भवन बने पनि नियमित स्वास्थ्य सेवा सञ्चालनबारे स्थानीयले प्रश्न उठाएका छन्।
  • अस्पतालमा स्वास्थ्यकर्मी, औषधि र आवश्यक उपकरणको अवस्था स्पष्ट नभएको भन्दै स्थानीयले निर्माणमा खर्च भएको रकम र हालसम्मको सेवा प्रवाह सार्वजनिक गर्न माग गरेका छन्।
  • दुर्गम क्षेत्रका नागरिक सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने अवस्था रहेको भन्दै स्थानीयले भवन मात्र बनाएर विकास पूरा नहुने बताएका छन्। स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
  • स् अस्पताल बनाउन बजेट खर्च भयो, भवन पनि बन्यो; तर जनताले उपचार कहिले पाउने ?

जनताको उपचारका लागि निर्माण गरिएको अस्पतालको भवन अहिले झाडीले घेरिँदै गएको छ। पचालझरना गाउँपालिका–९ लाटुरेमा रहेको स्वास्थ्य संरचनाको वरिपरि घाँसपात र झाडी बढ्दै गएपछि अस्पतालको नियमित सञ्चालन, संरक्षण र व्यवस्थापनमाथि स्थानीयले प्रश्न उठाएका छन्।

स्वास्थ्य सेवा दिन निर्माण गरिएको भवन नै झाडीले ढाकिँदै जानु सामान्य अवस्था नभएको स्थानीयको भनाइ छ। सार्वजनिक लगानीबाट बनेको संरचना प्रयोगमा छ कि छैन? छ भने कति सेवा भइरहेको छ? छैन भने किन? भन्ने प्रश्न अहिले मुख्य बनेको छ।

स्थानीय युवा रमेश कठायतले जनताको उपचारका लागि बनाइएको संरचना यस्तो अवस्थामा पुग्नु गम्भीर विषय भएको बताए।

अस्पताल जनताको उपचारका लागि बनेको हो, झाडी बढाउन होइन। भवन निर्माण गरेर मात्र विकास पूरा हुँदैन। यहाँ नियमित स्वास्थ्य सेवा किन छैन भन्ने सम्बन्धित निकायले जवाफ दिनुपर्छ।

अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र नियमित सेवा सञ्चालनको अवस्था स्पष्ट हुन सकेको छैन। निर्माणमा कति रकम खर्च भयो, हालसम्म कति सेवा प्रवाह भयो र संरचना सञ्चालनमा के समस्या छ भन्ने विवरणसमेत सार्वजनिक हुनुपर्ने स्थानीय युवा रमेश कठायतको माग रहेको छ।

अस्पतालको स्थान तथा सञ्चालनसम्बन्धी विवाद र कानुनी प्रक्रियाबारे स्थानीयस्तरमा चर्चा हुँदै आए पनि त्यसको आधिकारिक अवस्था सम्बन्धित निकायले स्पष्ट गर्न आवश्यक छ। विवाद भए समाधान राज्यका निकायले खोज्ने हो; उपचारका लागि नागरिकले दुःख पाउनु हुँदैन।

दुर्गम क्षेत्रका नागरिकका लागि नजिकैको स्वास्थ्य संस्था सामान्य भवनभन्दा धेरै ठूलो आवश्यकता हो। बिरामीलाई सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने अवस्था भए त्यसको प्रत्यक्ष भार आर्थिक रूपमा कमजोर नागरिक लाई पर्ने भएको छ ।

त्यसैले स्थानीयले अब आश्वासनभन्दा अस्पतालको वास्तविक अवस्था, निर्माण खर्च, स्वास्थ्यकर्मी, औषधि–उपकरण र नियमित सेवा सञ्चालनको स्पष्ट विवरण माग गरेका छन्।

जनताको करबाट बनेको संरचना झाडीले ढाकिँदै जाने हो भने तर बिरामी उपचारका लागि बाहिर धाउनुपर्ने अवस्था स्वीकार्य हुन नसक्ने स्थानीय युवा रमेश कठायत भनाइ छ।अब प्रश्न एउटै छ

अस्पताल बनाउन बजेट खर्च भयो, भवन पनि बन्यो; तर जनताले उपचार कहिले पाउने?

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार