२०८३ कात्तिक १६ , आइतबार
ताजा अपडेट:

६५ जिल्लामा बाढीको जोखिम, खोला–नदीमा बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाको चेतावनी



२०८३ असोज ८ गते

समाचार सारांश
Generated Using AI
  • देशभर वर्षा जारी, ६५ जिल्लाका खोला–नदीमा बहाब बढ्ने चेतावनी।
  • पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङमा आकस्मिक बाढीको जोखिम।
  • साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह।
  • नदी किनार र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न महाशाखाको अनुरोध।

अशाेक शाही

काठमाडौं ।

देशका विभिन्न भागमा वर्षा जारी रहेसँगै नदी, खोला तथा खोल्सामा पानीको बहाब बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार विशेषगरी पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ लगायतका जिल्लाका ससाना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ। वर्षा निरन्तर भइरहेकाले पानीको सतह अचानक बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपास तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको हो।

बिहान गरिएको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली र महाकाली लगायतका प्रमुख नदी तथा तिनका सहायक नदीको बहाब हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती लगायतका नदीमा पनि पानीको बहाब हाल सतर्कता तहभन्दा तल नै रहेको छ। यद्यपि वर्षा जारी रहेकाले आगामी समयमा नदी तथा खोलाको बहाब क्रमशः बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले काठमाडौं उपत्यकासहित देशका ६५ जिल्ला तथा आसपासका क्षेत्रमा बहने ससाना नदी, खोला र खोल्सामा पानीको बहाब उल्लेख्य बढ्न सक्ने जनाएको छ। पूर्वानुमानअनुसार ताप्लेजुङदेखि कालीकोटसम्मका विभिन्न जिल्लामा ससाना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

महाशाखाले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व–पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालीकोटमा जोखिम रहेको जनाएको छ।

यी जिल्लाका ससाना नदी तथा खोलामा वर्षाका कारण बहाब बढ्ने र कतिपय स्थानमा पानीको सतह अचानक उक्लिन सक्ने भएकाले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाले वर्षाको समयमा नदी, खोला तथा खोल्साको अवस्था सामान्य देखिए पनि केही समयमै पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र, खोला पार गर्ने स्थान तथा जोखिमयुक्त भूभागमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।

विशेषगरी बालबालिका तथा सर्वसाधारणलाई नदी–खोलाको किनारमा नजान, खोला तर्ने जोखिमपूर्ण प्रयास नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनालाई ध्यान दिन आग्रह गरिएको छ।

वर्षा अझै जारी रहेकाले अहिले प्रमुख नदीको बहाब सतर्कता तहभन्दा तल भए पनि ससाना नदी तथा खोलामा भने आकस्मिक रूपमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार