सुर्खेत,
असार २९
कर्णाली प्रदेश सरकारले विद्यार्थी तथा युवाहरूलाई सही करियर छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरेको छ। वीरेन्द्रनगरस्थित मानव संसाधन विकास केन्द्रमा स्थापना गरिएको उक्त केन्द्रको उद्घाटन सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र प्रदेश सचिव रोशनी कुमारी श्रेष्ठले संयुक्त रूपमा गर्नुभयो।
मन्त्रालयका अनुसार केन्द्रले विशेषगरी कक्षा ८, ९ र १० का विद्यार्थी तथा युवाहरूलाई करियर सम्बन्धी सही निर्णय लिन सहयोग गर्नेछ। यहाँ सामूहिक तथा व्यक्तिगत वृत्ति परामर्श, अभिभावक परामर्श, अनलाइन स्रोतमार्फत करियर जानकारी तथा श्रम बजारसँग जोड्ने सेवाहरू प्रदान गरिनेछ। यी सेवा प्रशिक्षित वृत्ति परामर्श सहजकर्तामार्फत सञ्चालन हुनेछन्।
केन्द्रको प्रमुख विशेषता डिजिटल माध्यमबाट रुचि, क्षमता र खुबी परीक्षण गर्ने व्यवस्था रहेको छ। यसबाट विद्यार्थीको क्षमता र श्रम बजारको मागबीच समन्वय गर्न सहज हुने विश्वास गरिएको छ। साथै, माध्यमिक विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गदर्शन सेवा सञ्चालनका लागि तालिम पनि प्रदान भइरहेको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण कुमार खड्काले आर्थिक वर्ष २०८१ मा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन कार्यविधि पारित गरी इन्स्योर परियोजनाअन्तर्गत सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीको रुचि, क्षमता र सीपका आधारमा करियर छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताउनुभयो।
उद्घाटन समारोहमा बोल्दै मन्त्री घनश्याम भण्डारीले कर्णालीका अधिकांश स्थानीय तहका माध्यमिक विद्यालयका शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशन सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइसकिएको उल्लेख गर्नुभयो। उहाँले सेवा केन्द्रलाई दीगो रूपमा सञ्चालन गर्न स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम विस्तार गरिने बताउनुभयो।
प्रदेश सचिव रोशनी कुमारी श्रेष्ठले केन्द्र स्थापना मात्रै पर्याप्त नभई यसको प्रभावकारी सञ्चालन र व्यापक प्रचार–प्रसार आवश्यक रहेको बताउँदै सबै सरोकारवालाको समन्वय र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले स्थानीय तहका मनोसामाजिक परामर्श सेवासँग वृत्ति मार्गनिर्देशन कार्यक्रमलाई जोडेर अघि बढाउन सुझाव दिनुभयो। यस्तै, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्ष विक्रम खड्काले कार्यक्रमले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै स्थानीय सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
मन्त्रालयका अनुसार भविष्यमा स्थानीय तहसँग सहकार्य गरी विद्यालयहरूमा वृत्ति ल्याब स्थापना गर्ने तथा कर्णालीका प्रमुख शहरहरूमा सेवा केन्द्रका उपकेन्द्र विस्तार गर्ने योजना रहेको छ।
उल्लेखनीय छ, वृत्ति मार्गनिर्देशन सेवा केन्द्र नेपाल र स्विजरल्याण्ड सरकारबीचको द्विपक्षीय सहकार्यअन्तर्गत सञ्चालित “दिगो तथा सम्मानित रोजगारीका लागि सीप ENSSURE )” परियोजनाको सहयोगमा स्थापना गरिएको हो। यस परियोजनामा हेल्भेटास नेपालले प्राविधिक सहयोग प्रदान गर्दै आएकाे छ।











प्रतिक्रिया दिनुहोस्