दैलेख, असार १८ —
सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस दैलेखमा दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको छ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको साङ्गेतडा क्षेत्रमा कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको हाइस सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि गाडी नदीमा पूर्ण रूपमा डुबेकाले तत्काल फेला पार्न कठिनाइ भइरहेको छ। उद्धार टोली घटनास्थलमा पुगिसकेको भए पनि नदीमा डुबेका कारण गाडी र यात्रुसम्म पुग्न सकेको छैन।
हालसम्म गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। साथै कुनै घाइते वा अन्य व्यक्तिसमेत फेला नपरेकाले यात्रुको संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बेपत्ता हाइस र सम्भावित यात्रुहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। घटनाको कारण र मानवीय क्षतिसम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्