दिपेन्द्र ब शाही
कोहलपुर ।
कृषि, पर्यटन तथा औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कोहलपुर महोत्सव–२०८२ को तयारीलाई आयोजक समितिले तीव्र पारेको छ। “दिगो विकासको उत्सव” भन्ने नारासहित सञ्चालन हुने महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन मूल आयोजक समिति सक्रिय रूपमा जुटेको हो।
यसैबीच, महोत्सवलाई बदनियतपूर्वक असफल बनाउन उद्देश्य राखी फैलाइएका भ्रम, अफवाह तथा भ्रामक प्रचारप्रति ध्यान नदिन आयोजक समितिले सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ। कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा महोत्सवसम्बन्धी अपुष्ट र गैर–जिम्मेवार सूचनाबाट सचेत रहन सबैलाई अनुरोध गरिएको छ।
विज्ञप्तिमा आधिकारिक जानकारीका लागि महोत्सव सचिवालयमार्फत मात्र सत्य–तथ्यमा आधारित विवरण लिन आग्रह गर्दै महोत्सव सफल बनाउन सबैको साथ, सहयोग र अपनत्व आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, भ्रामक सूचना फैलाएर महोत्सव सञ्चालनमा अवरोध सिर्जना गर्न खोज्ने व्यक्ति वा समूहविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत आयोजकले दिएको छ।
आयोजक समितिले कोहलपुरको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिमा महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नगरवासी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता र सहयोगको अपील गरेको छ।
लुम्बिनी प्रदेशको पश्चिमी भागमा अवस्थित कोहलपुर पछिल्ला वर्षहरूमा उद्योग, पर्यटन, स्वास्थ्य र शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै आएको छ। तीव्र शहरीकरणसँगै बढ्दो आर्थिक गतिविधिलाई थप मजबुत बनाउने उद्देश्यले वि.सं. २०६५ सालदेखि निरन्तर आयोजना हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष पनि पुस ९ देखि १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवमा कृषि, पर्यटन, सूचना प्रविधि, स्थानीय हस्तकला, स्वास्थ्य, शिक्षा तथा कला–संस्कृतिसँग सम्बन्धित उत्पादन तथा सेवाहरूको प्रदर्शनी रहनेछ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, आर्थिक गतिविधि विस्तार र कोहलपुरको पहिचान प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा आयोजकले गरेको छ।











प्रतिक्रिया दिनुहोस्