२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

महाबै गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई सम्पन्न: नीति तथा कार्यक्रममा सुझाव संकलन



 

कालीकोट:

महाबै गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई गरेको छ।

साथै, गाउँपालिकाले आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ। गाउँपालिकाले वर्षभरि सञ्चालन गरेका योजना, कार्यक्रम र आयव्ययबारे जानकारी दिन यो सार्वजनिक सुनुवाई आयोजना गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाहीले गाउँपालिकाका सबै शाखा प्रमुखको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि नागरिकले सेवा प्रवाहका विषयमा सवाल-जवाफ गरेका थिए। सुशासन व्यवस्थापन ऐनले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था गरे पनि महाबै गाउँपालिकाले पहिलो पटक वर्षभरिको कामबारे जानकारी दिन यस्तो कार्यक्रम गरेको जनाएको छ।
गाउँपालिकाका पूर्व अध्यक्ष नन्दबहादुर सिंहले वर्षको एकै पटक भए पनि सार्वजनिक सुनुवाई हुनु सकारात्मक भएको बताए। पूर्व उपाध्यक्ष मनराज शाहीले गल्ती गर्नेले सजाय पाइरहेको अवस्थामा आफ्नो कामबारे जानकारी दिँदा सुशासन कायम हुने बताए। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले जनप्रतिनिधि सबैको साझा हुनुपर्ने सुझाव दिएका थिए।
सार्वजनिक सुनुवाईमा नागरिक र राजनीतिक दलका प्रतिनिधिले बजेट र सेवा प्रवाहबारे प्रश्न गरेका थिए। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, उपाध्यक्ष दानसिंह सेजुवाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही लगायतले जवाफ दिएका थिए।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार