काठमाडौं
समाचार सारांश
- ९ कक्षामा पढ्दै गरेकी किशोरीले २०७६ साउन २५ गते साँझ मैतीदेवीमा पुस्तक किन्न जाँदा बिरन्जनले भेटेर घट्टेकुलोस्थित आफ्नो डेरामा ल्याएर साँझ ५:३० बजे बलात्कार गरेको बताएकी थिइन्। बलात्कार भएको भनिएको घटनाको करिब एक महिनापछि मात्रै ती किशोरी प्रहरीकहाँ पुगेकी थिइन्
- उमेर १८ वर्षभन्दा माथि (२०५७ मंसिर ५ मा जन्मिएकी) रहेको पुष्टि भयो। पीडितले शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममिति पेस गरे पनि जन्मदर्ता रजिस्टरमा उल्लेखित विवरण फरक थियो
५ वर्ष ८ महिना जेल बसेका बिरन्जन निर्दोष साबित: न्यायको लामो प्रतीक्षापछि सफाइ पाएका छन । २०७६ भदौ २३ गते महिला सेल, कालीमाटीबाट खटिएको प्रहरीले उनलाई बलात्कार मुद्दामा पक्राउ गर्यो। यस आरोपमा उनले ५ वर्ष ८ महिना थुनामा बिताउनुपर्यो, तर अन्ततः सर्वोच्च अदालतबाट निर्दोष साबित भएर रिहा भएका छन्।
न्यायको लामो प्रतीक्षा
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई सफाइ दिने फैसला गरेपछि उनी २०८२ जेठ २ गते रामेछाप कारागार कार्यालयबाट छुटेका हुन्। बिरन्जनको पक्षमा बहस गर्ने अधिवक्ता डा. गजेन्द्र अर्यालले यो जानकारी दिएका छन्।
बिरन्जनले काठमाडौं जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतसम्म थुनामै बसेर मुद्दा लड्नुपरेको दर्दनाक कहानी छ।
झुटो आरोप र अनुसन्धानको त्रुटि
२०७६ भदौ २३ गते एक किशोरीले बिरन्जनविरुद्ध बलात्कारको किटानी जाहेरी दिइन्। सोही दिन प्रहरीले उनलाई हत्कडी लगायो। तल्लो फ्ल्याटमा बस्ने ती किशोरीले बिरन्जनले आफूलाई ललाइफकाई, झुक्क्याई, धम्की दिँदै आफ्नो कोठामा लगेर मुख थुनी, हात पक्री जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्।
९ कक्षामा पढ्दै गरेकी किशोरीले २०७६ साउन २५ गते साँझ मैतीदेवीमा पुस्तक किन्न जाँदा बिरन्जनले भेटेर घट्टेकुलोस्थित आफ्नो डेरामा ल्याएर साँझ ५:३० बजे बलात्कार गरेको बताएकी थिइन्। बलात्कार भएको भनिएको घटनाको करिब एक महिनापछि मात्रै ती किशोरी प्रहरीकहाँ पुगेकी थिइन्। अधिवक्ताद्वय डा. गजेन्द्र अर्याल र राम घिमिरेले यसलाई ‘आफ्टर थट’ भनेका छन्, जसको अर्थ घटनालगत्तै नभई योजनाबद्ध रूपमा उजुरी गरिएको हो।
स्वास्थ्य परीक्षण रिपोर्टले पनि बलात्कारको आरोपलाई पुष्टि गरेन। विशेषज्ञ डा. श्रीराम खड्काले पीडितको कन्याजाली पुरानो च्यातिएको र सामान्य अवस्थामा रहेको बकपत्र गरेका थिए। अधिवक्ताहरूले ‘बलात्कार हुँदामात्रै कन्याजाली च्यातिँदैन’ भनी स्पष्ट पारेका छन्।
उमेर र नामको झुठ
मुद्दाको मुख्य आधार पीडितको नाबालिग उमेर थियो, तर अनुसन्धान गर्ने प्रहरी अधिकारी र अभियोजन गर्ने सरकारी वकिलले पीडितको उमेर र नामको भेरिफिकेसन नगरी नै मुद्दा अदालतमा लगेको देखियो। जाहेरीमा पीडितले आफू नाबालिग बताएकी थिइन्, तर जन्मदर्ता रजिस्टरअनुसार घटना भएको बेला उनको उमेर १८ वर्षभन्दा माथि (२०५७ मंसिर ५ मा जन्मिएकी) रहेको पुष्टि भयो। पीडितले शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममिति पेस गरे पनि जन्मदर्ता रजिस्टरमा उल्लेखित विवरण फरक थियो।
२०७७ असोज २६ गते काठमाडौं जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठले बिरन्जनलाई १२ वर्ष कैद सजाय सुनाइन्। त्यसपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नरिश्वर भण्डारीले २०७८ फागुन २६ गते सजाय घटाएर ७ वर्ष कायम गरे।
निःशुल्क कानुनी सहायता
नख्खु कारागारमा रहँदा २०७९ वैशाखमा बिरन्जनले सर्वोच्चमा पुनरावेदन गरे। सामान्य परिवारका बिरन्जनका बुबा परिवारसँग मुद्दा लड्ने पैसा थिएन। यस अवस्थामा अधिवक्ता डा. अर्यालले सर्वोच्चमा उनको पक्षमा निःशुल्क बहस गरिदिए।
बिरन्जनले आफूले बलात्कार नगरेको र घटना भएको भनिएको दिन आफू उक्त स्थानमा नरहेको बताए पनि अनुसन्धान अधिकारीहरूले यसको जाँचबुझसमेत गरेनन्। गम्भीर फौजदारी अपराधमा प्रहरी र सरकारी वकिलको यस्तो लापरबाहीले सम्भावना बोकेका एक युवकलाई अनाहकमा लामो समय जेल बस्न बाध्य बनायो।
२०८२ वैशाख ३१ गते सर्वोच्च अदालतबाट सफाइ पाएर रिहा भएका बिरन्जन अहिले आफ्नो गाउँघर वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ मा पुनर्स्थापित हुने अर्को संघर्षपूर्ण लडाइँमा छन्।










प्रतिक्रिया दिनुहोस्