वीरगञ्ज
बढ्दो चिसो र शीतलहरले तराईको जनजीवन प्रभावित भइरहेका बेला वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील कुमार कानुले सडकमा आश्रयविहीन रूपमा बस्ने कुकुरहरूका लागि विशेष पहल गरेका छन्।
चिसोबाट कुकुरलगायत निराश्रित जनावरहरूलाई जोगाउन वडाका विभिन्न स्थानमा कुकुर बस्न मिल्ने घर (सेल्टर) को व्यवस्था गरिएको छ। वडाध्यक्ष कानुको व्यक्तिगत पहल तथा विभिन्न दाताहरूको सहयोगमा उक्त सेल्टरहरू स्थापना गरिएको हो।
सडकमा बस्ने कुकुरहरू अत्यधिक चिसोका कारण बिरामी पर्ने, ज्यानै गुमाउने अवस्थालाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको वडाध्यक्ष कानुले बताए। “मानिसका सबैभन्दा वफादार साथी कुकुरहरू पनि जाडोमा पीडित हुन्छन्, उनीहरूलाई जोगाउनु हाम्रो मानवीय दायित्व हो,” उनले भने।
यसअघि अघिल्लो वर्ष पनि वडाध्यक्ष कानुले कुकुरलगायत अन्य निराश्रित जनावरहरूका लागि यस्तै प्रकारका घरको व्यवस्थापन गरेका थिए। उनको यो निरन्तर प्रयासले स्थानीयवासी र पशुप्रेमीहरूको प्रशंसा पाएको छ।
स्थानीयहरूका अनुसार वडाध्यक्षको यो कदमले मानवता र करुणाको सन्देश दिएको छ। चिसो मौसममा कुकुरहरू सुरक्षित रूपमा बस्न पाएका छन् भने नगर क्षेत्रमा जनावरप्रतिको जिम्मेवारी र सचेतना पनि बढ्दै गएको छ।
मानिसका वफादार साथी कुकुरहरूप्रतिको माया र जिम्मेवारी देखाउँदै वडाध्यक्ष सुशील कुमार कानुको यो पहल उदाहरणीय बनेको छ।










प्रतिक्रिया दिनुहोस्