२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

हेलिकप्टरमै जन्मिएकी शिशुको अस्पताल नपुग्दै मृत्यु : आमाको अवस्था सामान्य



 

प्रतिमा शाही
कालिकोट

कालिकोटको दुर्गम क्षेत्रबाट आकस्मिक उद्धार गरी सुर्खेत ल्याउने क्रममा हेलिकप्टरमै जन्मिएकी एक नवजात शिशुको कर्णाली प्रदेश अस्पताल पुग्नुअघि नै मृत्यु भएको छ। चिकित्सकहरूका अनुसार, अस्पताल ल्याइपुर्‍याउँदासम्म शिशु जीवित थिएनन्।

रक्तस्रावको गम्भीर समस्या देखिएपछि तिलागुफा नगरपालिका–९, कालिकोटकी २० वर्षीया अबिसा खत्रीलाई सोमबार बिहान करिब ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइँदै थियो।
कर्णाली प्रदेश अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाका अनुसार, अबिसालाई राति १ बजेदेखि नै रक्तस्राव भएको थियो। गाउँको चिलखाया स्वास्थ्य संस्थामा अवस्था गम्भीर देखिएपछि उनलाई कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो।

सुत्केरी व्यथाले च्यापेपछि खत्रीले बिहान ९ बजेर ५० मिनेट जाँदा हेलिकप्टरभित्रै शिशु जन्माएकी थिइन्। नर्सिङ अधिकृत थापाले भनिन्, ‘शिशु जन्माएपछि चिच्याएको थियो भनेर भन्नुभएको छ, तर १० बजेर ३० मिनेटमा कर्णाली प्रदेश अस्पतालमा आइपुग्दा शिशु जीवित थिएनन्।’ अस्पताल पुगेपछि चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए।

थापाले जानकारी दिएअनुसार, अबिसाको गर्भ २४ हप्ता ६ दिनको थियो। २४ हप्ताको शिशुलाई बचाउन मुस्किल हुने र रक्तस्रावको समस्या तथा हेलिकप्टरमै जन्मिएका कारण शिशु बाँच्ने सम्भावना न्यून रहेको उनको भनाइ छ।

शिशुको मृत्यु भए पनि आमा अबिसाको स्वास्थ्य अवस्था भने सामान्य छ। उनी हाल कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको निगरानीमा उपचाररत छिन्।

प्रकाशित मिति : २०८२ कात्तिक १० गते सोमबार