काठमाडौं, ४ भदौ:
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता राजु गैरेले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतविरुद्ध प्रहरीले किटानी जाहेरी लिन नमानेको आरोप लगाएका छन्।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले चक्रपथ प्रहरीले जाहेरी दर्ता गर्न नमानेको बताए।
गत साउन १४ गते भएको एक घटनामा स्वकीय सचिव खडायतले गैरेमाथि हेल्मेटले हातपात गरेको भिडियो फुटेज सार्वजनिक भएको थियो। सोही घटनाको जाहेरी दिन जाँदा प्रहरीले विभिन्न बहाना बनाएर पन्छिएको गैरेको भनाइ छ। “प्रहरीले किटानी जाहेरी लिन मिल्दैन पनि भनेको छैन,” उनले भने, “आइतबार आउनुस्, सोमबार आउनुस् भन्दै हामीलाई खेलाइरहेको छ।”
गैरेका अनुसार, चक्रपथ प्रहरीका डीएसपीले घटनालाई “राजनीतिक विषय” भन्दै पार्टी कार्यालयमा नै छलफल गर्न सुझाव दिएका थिए। गैरेले यसलाई नियोजित रूपमा गरिएको आक्रमण भएको र आफू कुनै पनि हालतमा सहमतिमा नजाने बताए। “यो मेरो व्यक्तिगत विषय मात्र नभई पार्टीमा आबद्ध लाखौँ कार्यकर्ताको विषय हो,” उनले थपे।
कानुनी कारबाही नभए आगामी भदौ १० गतेदेखि माइतीघर मण्डलामा अनशन बस्ने गैरेले घोषणा गरेका छन्। “मैले न्याय पाइन भने पार्टीको अनुशासन कायम गराउनका लागि र गल्ती गर्नेहरू कानुनको दायरामा आउनुपर्छ भन्ने सन्देश दिन म अनशन बस्दैछु,” उनले भने।










प्रतिक्रिया दिनुहोस्