२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

केदारनाथमा हेलिकोप्टर दुर्घटना, चालकसहित ७ जनाको मृत्यु



काठमाडौँ ।

भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा हेलिकोप्टरमा सवार चालकसहित सबै सात जनाको मृत्यु भएको छ।

गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै आर्यन कम्पनीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो। यो हेलिकप्टर तीर्थयात्री बोकेर देहरादूनबाट केदारनाथतर्फ उडिरहेको थियो।
प्रारम्भिक जानकारी अनुसार, खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ। जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले पहिलो पटक दुर्घटनाको जानकारी दिएका थिए।
दुर्घटनामा ज्यान गुमाएकाहरूको शव नराम्ररी जलेको अवस्थामा फेला परेको छ। मृतकहरूमा एक बालिका पनि रहेको बताइएको छ। हेलिकोप्टर गौरीमाई खर्कभन्दा माथिको जङ्गलमा खसेको थियो।

यसअघि पनि यही क्षेत्रमा असार ७ गते केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा एउटा हेलिकोप्टरमा प्राविधिक समस्या देखिएको थियो। उक्त घटनामा हेलिकोप्टरका पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा सुरक्षित अवतरण गराएका थिए, जहाँ पाइलट सामान्य घाइते भएका थिए भने हेलिकोप्टरमा सवार पाँच जना यात्रु सुरक्षित थिए।

प्रकाशित मिति : २०८२ असार १ गते आइतबार