सविना शाही
२०८३ साउन ८ गते
कालीकोट
— ग्रामीण स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले निक साइमन्स इन्स्टिच्युट (NSI) र रास्कोट नगरपालिकाबीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (RHSSP) कार्यान्वयनका लागि समझदारीपत्र (MoU) मा अन्तिम हस्ताक्षर भएको छ।
रास्कोट नगरपालिकामा रहेको प्रादेशिक रणनीतिक रास्कोट अस्पतालबाट स्वास्थ्य सेवासम्बन्धी नयाँ सेवा आगामी केही दिनभित्रै सुरु गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
समझदारीपत्रमा रास्कोट नगरपालिकाका नगर प्रमुख र निक साइमन्स इन्स्टिच्युटका प्रतिनिधिबीच हस्ताक्षर भएको हो। सम्झौतापछि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनामार्फत स्थानीय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा आवश्यक स्वास्थ्य सेवा ग्रामीण समुदायसम्म सहज रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार परियोजना कार्यान्वयनसँगै रास्कोट नगरपालिकाका नागरिकले आफ्नै क्षेत्रमा थप प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउनेछन्। नयाँ स्वास्थ्य सेवा सुरु भएपछि उपचारका लागि टाढा जानुपर्ने बाध्यता समेत केही हदसम्म कम हुने विश्वास गरिएको छ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको छ। आगामी दिनमा रास्कोट अस्पतालमार्फत उपलब्ध हुने नयाँ सेवाले ग्रामीण क्षेत्रको स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्