२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

चेकपोस्ट पार गरे पनि यात्रु अभिलेख छैन, कर्णाली दुर्घटनाले उठायो गम्भीर प्रश्न



 

सुर्खेत, १९ असार।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक फोर्स गाडी कर्णाली नदीमा खसेको २४ घण्टा बितिसक्दा पनि गाडीको अवस्था, यात्रुको वास्तविक संख्या तथा दुर्घटनाको विस्तृत विवरण अझै स्पष्ट हुन सकेको छैन। यस घटनाले राजमार्गका चेकपोस्टहरूमा हुने यात्रु अभिलेखीकरण प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा बिहीबार बिहान करिब ११:३० बजे क.प्र. ०२–००१ ख १०५५ नम्बरको बुलबुले यातायात प्रालिको यात्रुबाहक फोर्स गाडी अनियन्त्रित भई करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। सुर्खेतदेखि दुर्घटनास्थलसम्म पुग्ने क्रममा ४–५ वटा चेकपोस्ट पार गर्नुपर्ने भए पनि सम्बन्धित निकायसँग यात्रुको आधिकारिक विवरण उपलब्ध नभएको देखिएको छ। यसले चेकपोस्टहरूको प्रभावकारिता र अभिलेख व्यवस्थापनबारे प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा गाडीमा करिब ५ देखि ६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। यद्यपि यात्रुहरूको वास्तविक संख्या र परिचय खुलाउने कार्य जारी रहेको उनले बताए।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका सुरक्षाकर्मीसहित ५० भन्दा बढी जनशक्ति उद्धार तथा खोजी कार्यमा परिचालित छन्। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बिहीबारदेखि निरन्तर खोजी गरिरहेको भए पनि शुक्रबार बिहानसम्म गाडी फेला पार्न सफलता मिलेको छैन।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयराज सापकोटाका अनुसार लगातारको वर्षा, नदीमा बढेको पानीको बहाव तथा धमिलो पानीका कारण खोजी कार्य निकै कठिन बनेको छ। दुर्घटनास्थल अत्यन्तै भिरालो भएकाले नदीसम्म पुग्नसमेत समस्या रहेको उनले बताए।

खोजीका क्रममा हालसम्म गाडीका केही सिट र ४–५ वटा मोबाइल फोन मात्र फेला परेका छन्।

यसैबीच दुर्घटनास्थल नजिकै भीरमा अड्किएको अवस्थामा फेला परेको एक शवको सनाखत भएको छ। मृतक कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। प्रहरीले घटनाको विस्तृत अनुसन्धानसँगै बेपत्ता गाडी र सम्भावित यात्रुको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

याे घटनापछि राजमार्गका चेकपोस्टहरूमा यात्रु विवरण अभिलेख गर्ने प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएको छ या  छैन भन्ने विषयमा स्थानीयवासी र सरोकारवाला  निकाएकाे   ध्यानाकर्षण गरेकाे छ ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार