पोखरा
नेपाली कांग्रेसका मध्यबिन्दु नगर सभापति दोमन भण्डारीले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा अवस्थित मध्यबिन्दु नगरपालिकामा दुई कार्यकालसम्म सभापतिको जिम्मेवारी सम्हालेका भण्डारीले शुक्रबार एक कार्यक्रममा रास्वपा रोजेका हुन्।
२०५४ सालदेखि तरुण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय रहेका भण्डारीले पाँच वर्षअघि आफ्नै घरमा मध्यबिन्दु नगरपालिकाको कांग्रेस पार्टी कार्यालय स्थापना गरेका थिए। तर, अहिले उनले त्यहीँबाट कांग्रेसको नीति र विचारप्रति असन्तुष्टि जनाउँदै रास्वपामा जोडिएका छन्।
रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमले भण्डारीलाई पार्टीमा स्वागत गर्दै उनलाई केन्द्रीय प्रचार विभाग सदस्यको जिम्मेवारी दिइएको जानकारी दिए।
लामो समय कांग्रेसको राजनीतिमा रहेका भण्डारीले पार्टीले आफ्नो विचार र नीतिबाट विचलन देखाएको र जनताको सुख-दुःखसँग जोडिन नसकेको बताए।
“पार्टीमा गुटबन्दी बढेको छ। राम्रा मान्छेभन्दा नेताहरूले आफ्ना मान्छेलाई प्राथमिकता दिन्छन्,” उनले भने। “माथिदेखि तलसम्मै नेताहरूको चरित्र नफेरिएपछि मैले नै पार्टी फेर्ने निर्णय गरें।”
नेपाली सेनाको जागिर छोडेर १० वर्ष अफगानिस्तानमा काम गरेका भण्डारी विभिन्न सामाजिक तथा सामुदायिक संस्थाहरूमा पनि सक्रिय छन्।
उनी चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सदस्य, नारायणी सह लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्ष र राइनो क्लबको नेतृत्वकर्तासमेत हुन्।










प्रतिक्रिया दिनुहोस्