असार ५ ,सुर्खेत
वीरेन्द्रनगर नगरपालिकाले स्थानीय जनताको गुनासो, सुझाव र उजुरीलाई सजिलै संकलन र समाधान गर्ने उद्देश्यसहित ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेको छ।
नगरपालिकाले टोल फ्री नम्बर १८१०५०००२५२ मार्फत यो सेवा सञ्चालनमा ल्याएको हो। नगरवासीहरूले अब उक्त नम्बरमा निःशुल्क फोन गरी सिधै नगरपालिका प्रशासनसँग कुराकानी गर्न सक्नेछन्।
नगर प्रमुख मोहनमाया ढकालले यो सेवा जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ बलियो बनाउन सुरु गरिएको बताइन्। “हामीले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेका छौं, जसको नम्बर हो १८१०५०००२५२,” प्रमुख ढकालले भनिन्, “यस सेवामार्फत नगरवासीहरूले सिधै आफ्नो गुनासो, सुझाव वा उजुरी हामीसम्म पुर्याउन सक्नुहुन्छ। यसले हाम्रो सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने विश्वास लिएका छौं।”
नगरपालिकाका अनुसार हटलाइनमार्फत प्राप्त गुनासामाथि २४ घण्टाभित्र प्रारम्भिक प्रतिक्रिया दिइनेछ र आवश्यक कार्ययोजना अघि बढाइनेछ।
हालका लागि यो सेवा कार्यालय समयमा मात्र सञ्चालन हुनेछ भने बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म नगरवासीहरूले फोनमार्फत सेवा लिन सक्नेछन्।
नगरपालिकाले यो सेवा नगरवासीहरूको सशक्त सहभागिता र उत्तरदायी प्रशासन निर्माणतर्फको सकारात्मक कदम भएको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्