२१ असार २०८३
चितवन।
चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणमा परी आमा र चार वर्षीय छोराको मृत्यु भएको छ। शनिबार मध्यरातमा बस्तीमा पसेको हात्तीले एक कच्ची घरमा आक्रमण गर्दा उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार घटनामा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार हात्तीले घर भत्काउन थालेपछि परिवारका सदस्यहरू ज्यान जोगाउन बाहिर निस्कने प्रयास गरेका थिए। सोही क्रममा हात्तीको आक्रमणमा आमा र छोरा परेका थिए।
हात्तीलाई धपाउने प्रयासका क्रममा आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्दा फुस र काठले बनेको घरमा आगलागी भएको बताइएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि घरमा क्षति पुगेको छ।
घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका बस्तीमा पछिल्लो समय जंगली जनावरको प्रवेश र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन्। वन क्षेत्र नजिकका बासिन्दाले रातिको समयमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
घटनापछि पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने तथा प्रभावित क्षेत्रमा सुरक्षा र निगरानी थप प्रभावकारी बनाउने विषयमा स्थानीय प्रशासन, निकुञ्ज प्रशासन र सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।










प्रतिक्रिया दिनुहोस्