काठमाडौं ।
दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक पठाउने प्रक्रिया अघि बढाउन सरकारले आवश्यक प्रशासनिक तयारी थालेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार प्रक्रिया अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको जनाएको छ।
मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन, कोरियाली दूतावासको कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट जारी आदेशलाई आधार बनाएर निर्णय गरिएको हो। मन्त्रीस्तरबाट असार १५ गते भएको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
अब ई–७ भिसामा दक्षिण कोरिया पठाइने सीपयुक्त श्रमिकका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट रोजगारदाताको मागपत्र प्रमाणीकरण गराई वैधानिक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था लागू हुनेछ।
यस निर्णयसँगै वैदेशिक रोजगार विभाग, ताहाचललाई आवश्यक व्यवस्थापन तथा कार्यान्वयनका लागि निर्देशन दिइएको छ। साथै, दक्षिण कोरियास्थित नेपाली राजदूतावासलाई समेत यसबारे बोधार्थ पठाइएको मन्त्रालयले जनाएको छ।
सरकारको यो निर्णयसँगै लामो समयदेखि ई–७ भिसामार्फत दक्षिण कोरियामा रोजगारीको अवसर पर्खिरहेका सीपयुक्त नेपाली श्रमिकलाई कानुनी र व्यवस्थित प्रक्रियाबाट रोजगारीमा पठाउने बाटो थप स्पष्ट हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया दिनुहोस्