काठमाडौं ।
बलात्कार मुद्दाका एक पुरुष अभियुक्तसँग नाम मिलेकै कारण पूर्वी रुकुमकी कर्णरूपा बुढा वैदेशिक रोजगारीका लागि दुबई जानबाट रोकिएकी छन्। प्रहरी रिपोर्ट नपाउँदा उनी चार महिनादेखि वैदेशिक रोजगारीमा जान नसकेको पीडित पक्षले जनाएको छ।
प्रहरी स्रोतका अनुसार जबर्जस्ती करणीसम्बन्धी एक मुद्दामा संलग्न पुरुष अभियुक्तसँग नाम जुधेकै कारण कर्णरूपा बुढाको नाम प्रहरी प्रणालीमा समस्या देखिएको हो। सोही कारण उनलाई आवश्यक प्रहरी क्लियरेन्स रिपोर्ट (Police Report) जारी हुन सकेको छैन।
आफूविरुद्ध कुनै पनि मुद्दा नरहेको दाबी गर्दै कर्णरूपाले विगत चार महिनादेखि विभिन्न प्रहरी कार्यालय धाइरहनु परेको बताइन्। “नाम मात्रै मिल्यो, तर त्यसको सजाय मैले भोग्नुपरेको छ,” उनले दुःख व्यक्त गर्दै भनिन्, “म निर्दोष हुँ भन्ने प्रमाण हुँदाहुँदै पनि विदेश जान पाएकी छैन।”
श्रीमानको निधनपछि दुई छोराको सम्पूर्ण जिम्मेवारी आफ्नै काँधमा बोकेकी कर्णरूपा रोजगारीका लागि विदेश जान खोजेकी थिइन्। तर प्रहरी रिपोर्ट नपाउँदा उनी आर्थिक तथा मानसिक समस्यामा परेकी छन्। घरखर्च, छोराहरूको पढाइ र दैनिकी चलाउन समस्या हुँदै गएको उनको भनाइ छ।
मानव अधिकारकर्मीहरूले नाम मिलेकै आधारमा निर्दोष नागरिकलाई दुःख दिने प्रणालीगत कमजोरी भएको भन्दै तत्काल सुधार गर्न माग गरेका छन्। उनीहरूले यस्ता घटनाले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणको भविष्य नै अन्योलमा पर्ने चेतावनी दिएका छन्।
पीडित कर्णरूपाले सम्बन्धित निकायसँग छिटो छानबिन गरी आफ्नो नाम प्रहरी प्रणालीबाट सफा गरिदिन आग्रह गरेकी छन्। “अब ढिला भयो भने मेरो परिवारको अवस्था झन् गाह्रो हुन्छ,” भन्दै उनले राज्यसँग न्यायको अपेक्षा गरेकी छन्।










प्रतिक्रिया दिनुहोस्