२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

राष्ट्रियता ,स्वाधीनता र समाजवादका पक्षमा’ २० गते हुने विशाल जनप्रदर्शनमा सहभागी हुन नेकपाकाे आह्वान  



काठमाडौँ, कार्तिक ११

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यहि कार्तिक २० गते काठमाडौँमा ‘स्वाधीनता र समाजवादका पक्षमा’ विशाल जनप्रदर्शन तथा जनसभा गर्ने भएको छ । पार्टीले उक्त कार्यक्रममा सहभागी हुन आम जनसमुदायलाई आह्वान गरेको छ ।

पार्टीका महासचिव विप्लव ‘सी’ ले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै जनप्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको हो ।
महासचिव विप्लवले नेपाललाई अरूले नभई नेपाली जनता आफैँले फेर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी र तस्करीको अन्त्यपछि मात्र देशले वास्तविक आत्मसम्मान र उन्नति हासिल गर्ने बताउनुभयो ।

आफ्नो सन्देशमा उहाँले लेख्नुभएको छ, “नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् । देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ ।

स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू ।”
नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकले कार्तिक २० गते काठमाडौँमा विशाल जनप्रदर्शनसहित जनसभा गर्ने निर्णय गरेको थियो ।

सोही बैठकले जनप्रदर्शनका साथै अन्य विभिन्न चरणका सङ्घर्षका कार्यक्रमहरू समेत तय गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार