२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

जेन-जी आन्दोलनमा भएको दमनको विरोधमा तीन विद्यार्थी संगठतिद्वारा प्रधानमन्त्रीको राजीनामा माग



 

काठमाडौं:
अशाेक कुमार शाही

देशका विभिन्न भागमा भ्रष्टाचार, बेथिति, महँगी र ज्यादतीको विरुद्धमा जेन-जी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको दमन र धरपकडको विरोध गर्दै अेनेरास्ववियू (समाजवादी ) सहित तीन विद्यार्थी संगठनले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।

मिति २०८२ भदौ २३ गते जारी गरिएको प्रेस-विज्ञप्तिमा विद्यार्थी संगठनले आन्दोलनका क्रममा सरकारको निर्देशनमा गोली प्रहार हुँदा दर्जनौं विद्यार्थीहरुको मृत्यु भएको र सयौं विद्यार्थीहरु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनमा सरकारको ठाडो निर्देशनमा गोली प्रहार गरेर दर्जनौंको मृत्यु र सयौं युवा घाइते भएको खबरले हामीलाई मर्माहत बनाएको छ।”
संयुक्त विद्यार्थी संगठनले आन्दोलनमा ज्यान गुमाउने युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

उनीहरूले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन्।
विज्ञप्तिमा प्रहरीले सामान्य बल प्रयोगको सिद्धान्तलाई बेवास्ता गरी गोली चलाएकोमा कडा शब्दमा निन्दा समेत गरिएको छ।

यस घटनाको जिम्मेवारी लिँदै आन्दोलनमा भएको दमनको आदेश दिने गृहमन्त्रीको राजीनामाले मात्रै पर्याप्त नहुने भन्दै संगठनहरूले आन्दोलनको सुरुवातदेखि अहिलेसम्म भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

जेन-जीले उठाएका मागहरूको सुनुवाइ गर्न र त्यसको संरक्षकको रूपमा प्रधानमन्त्रीले तत्काल नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्तुत गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

अन्त्यमा, संयुक्त विद्यार्थी संगठनले जेन-जीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै यदि उनीहरूका मागहरूको बेवास्ता गरिएमा चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

प्रेस-विज्ञप्तिमा अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेश समितिका उपाध्यक्ष हिक्मत शाही, अखिल (समाजवादी) कर्णाली प्रदेशका इन्चार्ज सुभाष सी, र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संयोजक सन्देश शाहीको हस्ताक्षर रहेको छ।

विज्ञप्ति

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार