अशाेक शाही
सुर्खेत, साउन २४ –
वीरेन्द्रनगरको मुटु वीरेन्द्रचोकमा जडान गरिएको ट्राफिक लाइटले औपचारिक रूपमा सेवा सुरु गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विशेष कार्यक्रम आयोजना गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतलाई यसको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी हस्तान्तरण गरेको छ।
नगरपालिका प्रमुख मोहनमाया ढकालले ट्राफिक प्रहरी प्रमुखलाई लाइटको साँचो हस्तान्तरण गर्दै यसको सफल कार्यान्वयनको शुभकामना दिइन्। उनले भनिन्, “यो ट्राफिक लाइटले वीरेन्द्रचोकको अस्तव्यस्त सवारी चापलाई व्यवस्थित गर्न र दुर्घटनाको जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ।”
कार्यक्रममा नगरप्रमुख ढकालले सडक सभ्यताको विकास र सुरक्षित यात्राका लागि यो एक महत्त्वपूर्ण कदम भएको बताउनु भयाे।
नगरपालिकाले शहरी यातायातलाई थप व्यवस्थित र सुरक्षित बनाउन अन्य योजनाहरू पनि अघि बढाएको जानकारी दिँदै उनले यसै वर्षदेखि मंगलगढी चोकमा आकाशे पुल निर्माणको काम सुरु भइसकेको बताइन्।
नगरपालिकाले मंगलगढी, एयरपोर्ट र यरिचोकमा पनि ट्राफिक लाइट जडान गर्ने तयारी गरिरहेको छ। सडक विभागले यसका लागि ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ। आगामी दिनमा नगरका अन्य आवश्यकता अनुसारका स्थानहरूमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।
वीरेन्द्रचोकमा ट्राफिक लाइट सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा र सवारी चालकहरूले खुसी व्यक्त गरेका छन्। यसले दैनिक जामको समस्या समाधान हुने र दुर्घटनाको डर कम हुने उनीहरूको अपेक्षा छ।










प्रतिक्रिया दिनुहोस्