२०८३ जेठ २८ , बिहीबार
ताजा अपडेट:

कर्णालीका पूर्व मुख्यमन्त्री शाहीद्वारा संसद अवरोध अन्त्यको कारण स्पष्ट, माग यथावत रहने



 

सुर्खेत -असार २

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही (प्रज्वल) ले संसद अवरोध अन्त्य गर्नुको कारण स्पष्ट पारेका छन्।
उनले भनेका छन् कि एक जिम्मेवार राजनीतिक शक्ति भएकोले जनतालाई समस्या नपरोस् भनेर संसद खुला गरिएको हो, तर आफ्ना मागहरूबाट एक इन्च पनि नहटेको उनले बताएका छन्।

सामाजिक सञ्जालमार्फत सांसद शाहीले भनेका छन्, “हामीले एक देशको जिम्मेवार राजनीतिक शक्ति भएर आफ्नो दायित्व पूरा गरेका हौं। यो समय संसदको बजेट अधिवेशन हो, र हामीले सदन अवरुद्ध भए पनि सरकारलाई जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका थियौं।”
उनका अनुसार नेपालको संविधानले बजेट प्रस्तुत भएको ३० दिनभित्र छलफल गरी संसदबाट पारित गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। “यदि बजेट संसदबाट पारित भएन भने देश ठप्प हुन्छ, विकास निर्माणका कार्यहरू रोकिन्छन्, कर्मचारीहरूले तलब भत्ता पाउँदैनन्, र स्वास्थ्य तथा शिक्षा जस्ता संवेदनशील क्षेत्रहरूमा असर पर्छ,”

सरकारलाई गैरजिम्मेवार भएको आरोप लगाउँदै शाहीले भने, “सरकार संसदको अवरोध हटाउन उदासिन देखियो। त्यसैले हामीले जिम्मेवार भएर आफ्नै पहलमा सदन खुला गरेका हौं।”
यद्यपि, सांसद शाहीले आफ्ना मुख्य मागहरू यथावत रहेको स्पष्ट पारेका छन्।
“हामी हाम्रा मुद्दाहरूबाट पछि हटेका छैनौं। सरकारी निकायहरूकै संलग्नतामा मानव तस्करी र संगठित अपराधका घटनाहरू बाहिर आएका छन्। यस विरुद्धको हाम्रो संघर्ष जारी रहनेछ,” उनले भने।
नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले संसद अवरोध फिर्ता लिएपछि सांसद शाहीको यो प्रतिक्रिया आएको हो। यस निर्णयसँगै, उनले मानव तस्करी र संगठित अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध राजनीतिक र कानुनी लडाइँ जारी राख्ने संकेत दिएका छन्।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार