शिख समुदायबाट पहिलो पटक नेपाली सेनामा करन सिंह नेपाली भर्ती
बाँके ।
नेपाली सेनाको इतिहासमा पहिलो पटक शिख समुदायको प्रतिनिधित्व भएको छ।
बाँके जिल्लाको जानकी गाउँपालिका–२, बनकटवाका करनसिंह शिख नेपाली सेनामा भर्ती भएरका हुन ।
अछाम जिल्लास्थित गोरख बक्स गण, मंगलसेन ब्यारेकमा हालै सम्पन्न दसौँ समूहको सैन्य आधार तालिममा करनसिंह सहभागी थिए।
उनले तालिमको अन्तिम चरणमा आयोजित ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ सफलतापूर्वक सम्पन्न गरेसँगै नेपाली सेनामा शिख समुदायको प्रवेश औपचारिक रूपमा भएको हो।
यस महत्वपूर्ण घटनाक्रमसँगै करनसिंह शिख नेपाली सेनामा शिख समुदायबाट सेवा गर्ने पहिलो व्यक्ति बनेका छन्।
करनसिंहको यो उपलब्धिले नेपाली सेनामा समावेशिता र विविधताको नयाँ आयाम थपेको छ। यसअघि नेपाली सेनामा विभिन्न जातजाति र समुदायका नागरिकले प्रतिनिधित्व गर्दै आए पनि शिख समुदायको उपस्थिति भने रहेको थिएन।
करनसिंहको भर्तीले नेपाली सेनाको संरचनालाई अझ व्यापक र समावेशी बनाउन योगदान पुर्याउने छ।
सैन्य आधार तालिम सफलतापूर्वक सम्पन्न गरेपछि करनसिंहले भने, “म नेपाली सेनामा भर्ती हुन पाएकोमा अत्यन्तै खुशी छु। यो मेरो मात्र नभई सम्पूर्ण शिख समुदायका लागि गौरवको क्षण हो। मैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नेछु।”
गोरख बक्स गणमा आयोजित कवाज कार्यक्रममा उच्च सैनिक अधिकारीहरु, स्थानीय समाजसेवी र करनसिंहका परिवारका सदस्यहरुको उपस्थिति थियो। कार्यक्रममा बोल्दै गणका प्रमुखले करनसिंहको लगनशीलता र समर्पणको प्रशंसा गरे। उनले भने, “करनसिंहले तालिम अवधिभर उत्कृष्ट प्रदर्शन गरेका छन्। उनी नेपाली सेनाका लागि एक योग्य सदस्य साबित हुनेछन्।”
करनसिंहको यो ऐतिहासिक सफलताले बाँके जिल्ला र विशेषगरी बनकटवा क्षेत्रमा खुशियाली छाएको छ। स्थानीय बासिन्दाहरुले करनसिंहलाई बधाई ज्ञापन गर्दै उनको उज्ज्वल भविष्यको कामना गरेका छन्। जानकी गाउँपालिकाका अध्यक्षले करनसिंहको यो उपलब्धि सम्पूर्ण गाउँपालिकाका लागि गौरवको विषय भएको बताए।
नेपाली सेनाले पनि करनसिंहको भर्तीलाई समावेशिताको महत्वपूर्ण कदमको रूपमा लिएको छ। सेनाले आगामी दिनमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न थप पहल गर्ने जनाएको छ। करनसिंहको यो प्रेरणादायी यात्राले अन्य युवाहरूलाई पनि नेपाली सेनामा भर्ती हुने अपेक्षा गरिएको छ।










प्रतिक्रिया दिनुहोस्