वीरेन्द्रनगर , सुर्खेत ।
समाचार सारांश
- नगर प्रमुख मोहनमाया ढकालका अनुसार प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गर्ने पाँच जनालाई पूर्ण छात्रवृत्तिमा समेटी नगरपालिकामै रोजगार दिने लक्ष्य राखिएको छ । साथै, अन्य सहभागीहरुलाई पनि विभिन्न शिल्पगत सीप सिकाएर आत्मनिर्भर बनाउने प्रयास गरिने उनले बताइन् ।
- तालिममा व्यवहारिक ज्ञानका साथै व्यावसायिक सिप विकासमा समेत जोड दिइएको छ ।
जेठ १०
सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय तीव्र विकास भइरहेको छ । युवा पुस्ता इन्टरनेट, कम्प्युटर र स्मार्टफोनमार्फत नयाँ कुरा सिक्न र आत्मनिर्भर बन्न खोजिरहेका छन् । यिनै आवश्यकता र प्रवृत्तिलाई मध्यनजर गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले सूचना प्रविधि (आईटी) सम्बन्धी १५ दिने विशेष प्रशिक्षण सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले प्रदेशका १० वटै जिल्लाबाट आईटी अध्ययनरत ४० जना युवायुवतीलाई छनोट गरी प्रशिक्षण सुरु गरेको हो । उनीहरुलाई वेब सफ्टवेयर विकास र क्लाउड कम्प्युटिङको ज्ञान प्रदान गरिनेछ । तालिमको प्रमुख उद्देश्य युवा पुस्तालाई दक्ष बनाएर स्वरोजगारको बाटो खोल्नु रहेको छ ।
नगर प्रमुख मोहनमाया ढकालका अनुसार प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गर्ने पाँच जनालाई पूर्ण छात्रवृत्तिमा समेटी नगरपालिकामै रोजगार दिने लक्ष्य राखिएको छ । साथै, अन्य सहभागीहरुलाई पनि विभिन्न शिल्पगत सीप सिकाएर आत्मनिर्भर बनाउने प्रयास गरिने उनले बताइन् ।
यो तालिम वीरेन्द्रनगर नगरपालिकाको रोजगार तथा सूचना प्रविधि शाखाले आयोजना गरेको हो । तालिममा व्यवहारिक ज्ञानका साथै व्यावसायिक सिप विकासमा समेत जोड दिइएको छ । सहभागीहरुलाई ललितपुरको जेनिस सोलुशन प्रा.लि. का प्रशिक्षक निर्मल बस्ताकोटी, देश दीपक धोबी र आशिष सुवेदीले प्रशिक्षण दिइरहेका छन् ।
नगरपालिकाले भविष्यमा प्रविधिमैत्री सेवा विस्तार गर्ने लक्ष्यका साथ आईटी क्षेत्रमा रुचि राख्ने युवाहरुलाई अझ धेरै अवसर दिने तयारी गरिरहेको जानकारी समेत दिएको छ ।
यस तालिमले स्थानीय तहमै दक्ष जनशक्ति उत्पादन गरी आत्मनिर्भरता र रोजगारी सृजनामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ ।










प्रतिक्रिया दिनुहोस्