२०८३ कात्तिक १५ , शनिबार
ताजा अपडेट:

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते



 

देपेन्द्र बहादुर शाही

काठमाडौँ

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिनयी त्रिवेणी गाउँपालिका–२ को एस मोडमा दुर्घटनामा परेको हो । प्रारम्भिक विवरणअनुसार बस चालकले नियन्त्रण गुमाएपछि सडकबाट तल नालामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनाका बेला बसमा चालकसहित १८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये पाँच जनाको परिचय खुलेको छ भने एक जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ ।

मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र बाँकेको नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।

यस्तै, करिब ४० देखि ४२ वर्ष उमेरका एक पुरुषको पनि दुर्घटनामा मृत्यु भएको छ । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनाको नवलपरासी र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको नरहेकोबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापनको काम गरेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार