२०८३ भदौ १८ , बिहीबार
ताजा अपडेट:

भारतस्थित पाँच नेपाली संघ–संगठनबीच ऐतिहासिक एकता, ‘नेपाली समाज भारत’ नामबाट एकीकृत



काठमाडौं/भारत,

भारतमा क्रियाशील पाँच नेपाली संघ–संगठनबीच ऐतिहासिक संगठनात्मक एकता सम्पन्न भएको छ। विशेष अनलाइन माध्यमबाट आयोजित एकता तथा समायोजन कार्यक्रममा सहभागी सबै संगठनले अबदेखि ‘नेपाली समाज भारत’ नामबाट एकीकृत रूपमा सञ्चालन हुने सर्वसम्मत निर्णय गरेका छन्।

आयोजकका अनुसार यस एकताले भारतस्थित नेपाली समुदायबीच आपसी सद्भाव, संगठनात्मक मजबुती तथा साझा हितको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा पूर्व अध्यक्ष ईश्वरी भण्डारीको अध्यक्षता, पूर्वमन्त्री शेरबहादुर कुँवरको सञ्चालन तथा पूर्व अध्यक्ष डम्बर रावलको स्वागत मन्तव्य रहेको थियो।

कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

एकता कार्यक्रममार्फत नेपाली समाज भारत, प्रवासी नेपाली एकता मञ्च, प्रवासी नेपाली मातृभूमि संघ भारत, प्रवासी नेपाली जन समाज भारत तथा नेपाली जन समाज भारत बीच औपचारिक रूपमा संगठनात्मक एकता घोषणा गरिएको हो। अब यी सबै संगठनहरू ‘नेपाली समाज भारत’ को साझा नामबाट सञ्चालन हुने जनाइएको छ।

नवनिर्मित एकीकृत संगठनको संयोजकमा चक्र बहादुर मलाती सर्वसम्मत रूपमा चयन भएका छन्। सहसंयोजकहरूमा मोहन देवकर, आर.बी. खड्का, नारायण बन्जाडे, उषा खड्का, भगवती भण्डारी, बेदप्रकाश भण्डारी, कटक शाही, अमर बहादुर बिष्ट, भीम बहादुर खड्का तथा मुकेश कुँवर चयन भएका छन्।

एकतासँगै पदाधिकारीसहित ६१३ सदस्यीय संयुक्त केन्द्रीय समिति गठन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले यस एकताले भारतस्थित नेपाली समुदायको हक, हित, अधिकार, सामाजिक सद्भाव तथा संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै समुदायको साझा आवाजलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।

आयोजक समितिले कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ–संगठनका प्रतिनिधि तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सेवा, संरक्षण, अधिकार, सम्मान, सामाजिक सद्भाव र समग्र हितका लागि ‘नेपाली समाज भारत’ दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार