२०८३ साउन १२ , मंगलबार
ताजा अपडेट:

भ्रामक प्रचार र चरित्रहत्याको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ



काठमाडौं।

सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री प्रसारण गरेको तथा चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको उजुरीका आधारमा बिहीबार काठमाडौंको जोरपाटीबाट केसीलाई नियन्त्रणमा लिएको जनाएको छ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरिका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, गाली–बेइज्जती गर्ने तथा कसैको प्रतिष्ठामा आँच पुग्ने सामग्री सार्वजनिक गरेको भन्ने उजुरीपछि आवश्यक अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको हो।

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

केही समययता वेदिका केसी र कथावाचिका राधिका दासीबीच सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिमार्फत आरोप–प्रत्यारोप चलिरहेको थियो। वेदिकाले राधिका दासीका धार्मिक गतिविधि, व्यक्तिगत जीवन तथा महायज्ञसँग सम्बन्धित विषयमा प्रश्न उठाउँदै आएकी थिइन्।

यही विषयसँग सम्बन्धित अभिव्यक्तिहरू भ्रामक तथा चरित्रहत्या गर्ने प्रकृतिका रहेको भन्दै राधिका दासीले प्रहरीमा उजुरी दिएपछि साइबर ब्युरोले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार