२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

बैतडीमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको मनपरी, आफैंले गरे सातौं तहमा बढुवा



देपेन्द्र बहादुर शाही

२०८२साउन १ गते
बैतडी

सुदूरपश्चिमको बैतडी जिल्लास्थित पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सागर शाहले आफैंलाई पदोन्नति गरेपछि स्थानीय कर्मचारीतन्त्रमा खैलाबैला मच्चिएको छ।

अहेव पदबाट सेवा प्रवेश गरेका शाह छैटौं तह (सिनियर अहेव) मा कार्यरत थिए। तर, गाउँपालिकामा स्थानीय सेवा ऐन कार्यान्वयनमा आउनेबित्तिकै उनले उक्त ऐनलाई आधार देखाउँदै आफूलाई सातौं तहमा बढुवा गरेका हुन्।

आश्चर्यजनक रूपमा, शाहले यो बढुवाको सिफारिस आफैंले तयार पारेका थिए र आफैंले नै त्यसलाई अनुमोदन गरेको बताइएको छ। यस घटनाले गाउँपालिकाको कर्मचारी प्रशासनमा गम्भीर प्रश्न उब्जाएको छ र कर्मचारीहरूबीच तीव्र विवाद सिर्जना भएको छ।

स्थानीय तहमा कार्यरत अन्य कर्मचारीहरूले यस कार्यलाई नियमविपरीत र नैतिकताको उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन्। एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “यो सरासर दादागिरी हो। कसरी एकजना व्यक्तिले आफैंलाई बढुवा गर्न सक्छ? यसले स्थानीय सेवा ऐनको धज्जी उडाएको छ।”

यस विषयमा पञ्चेश्वर गाउँपालिकाका अन्य पदाधिकारीहरूले भने कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि, कर्मचारीहरूले यस विषयमा छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

यस्तो विवादास्पद कदमले सुदूरपश्चिम प्रदेशका अन्य स्थानीय तहहरूमा पनि नकारात्मक सन्देश जान सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। स्थानीय सेवा ऐनको गलत व्याख्या र कार्यान्वयनले कर्मचारीतन्त्रमा अराजकता निम्त्याउन सक्ने उनीहरूको भनाइ छ।

अहिले यो घटना स्थानीय स्तरमा चर्चाको विषय बनेको छ र यसले पञ्चेश्वर गाउँपालिकाको प्रशासनमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार