२०८२ साेमबार ३० गते
जाजरकोटमा सोमबार भएका दुई भिन्नाभिन्नै दुःखद् घटनामा दुई युवाको ज्यान गएको छ भने एक किशोर घाइते भएका छन्।
पहिलो घटनामा, भेरी नगरपालिकामा एउटा ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ। छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत भेरी नगरपालिका–१० आलिमा बिहान करिब पौने आठ बजेतिर भएको दुर्घटनामा भेरी नगरपालिका–९ का १९ वर्षीय धन बहादुर विकले घटनास्थलमै ज्यान गुमाए।
फेराबजारबाट छेडा बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–००२ त ०६०७ नम्बरको ट्याक्टर सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खसेको प्रहरीले जनाएको छ।
यस दुर्घटनामा भेरी नगरपालिका–७ का १५ वर्षीय विरेन्द्र परियार घाइते भएका छन् र उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै, अर्को हृदयविदारक घटना नलगाड नगरपालिका–४ गाडेखोलामा भएको छ। बिहान साढे दश बजेतिर विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर नलगाड नगरपालिका–७ चामाखेतका २२ वर्षीय शिशिर चन्दको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय दल्लीका अनुसार, पोलमा चढेर तार मर्मत गरिरहेका चन्दलाई अचानक करेन्ट लागेको थियो र उनको पोलमै झुण्डिएर मृत्यु भएको थियो।
उनकाे शवलाई नगर अस्पताल दल्लीमा पाेस्टमार्टमकाे लागि लगिएकाे प्रहरी निरिक्षक सन्ताेष चन्दले बताउनु भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्