रौतहट।
रौतहट जिल्लाको गौर नगरपालिका–९, गौर सिर्सिया सडकखण्ड अन्तर्गत मुडवालबा मोड नजिकै एउटा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ।
यो घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ, किनकि जिल्लामा यस प्रकारको घटना यो पहिलो हो।शनिबार राति करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा बेवारिसे अवस्थामा एउटा सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले घटनास्थलमा पुगेर हेर्दा सुटकेशभित्र शव रहेको पत्ता लगाएको थियो। त्यसपछि रातभरि घटनास्थललाई घेरा हालेर सुरक्षा दिइएको थियो।
आइतबार बिहान सुटकेश खोल्दा भित्र एक विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। करिब ३५ वर्षकी ती महिलाले गुलाबी रङको कुर्ता–सुरुवाल लगाएकी थिइन्। शवको टाउकोमा गहिरो चोट देखिएको प्रहरी अधिकारीहरूले बताएका छन्। सुटकेशभित्र केही कागजात र महिलाको सुरुवालको खल्तीमा केही नगद पनि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक राजु कार्कीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिएका छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र हत्याराको खोजी कार्य जारी रहेको उनले बताएका छन्। यस जघन्य अपराधको सत्यतथ्य पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।










प्रतिक्रिया दिनुहोस्