२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

राजधानीकै ठूलो सरकारी अस्पतालमा इन्टरनेटको बिजोग: सेवाग्राहीलाई सास्ती, प्रशासन मौन



काठमाडौं,

२०८२ साउन २७

देशकै पुरानो र ठूलो सरकारी अस्पताल, वीर अस्पतालमा इन्टरनेट सेवा अवरुद्ध हुँदा बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको छ।

विशेषगरी रगत संकलन विभागमा लामो समयदेखि इन्टरनेट नचल्दा बिरामी र उनीहरूका आफन्तहरू चर्को घाममा घण्टौं लाइनमा बस्न बाध्य छन्।

नेपालभरबाट उपचारका लागि आउने बिरामीहरूको भीड लाग्ने वीर अस्पतालमा समय-समयमा इन्टरनेटमा आउने यस्तो समस्याले सेवाग्राहीहरूलाई निकै असुविधा हुने गरेको छ। इन्टरनेट नचल्दा रगतको रिपोर्ट निकाल्ने जस्ता अत्यावश्यक कामहरूमा ढिलाइ भई बिरामीहरूले लामो समय कुर्नुपरेको गुनासो गरेका छन्।

अस्पताल प्रशासनको गैरजिम्मेवारी

यस विषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा गैरजिम्मेवारीपूर्ण व्यवहार देखिएको छ। समाचार संकलनका क्रममा वीर अस्पतालको सम्पर्क नम्बर ०१५३२१९८८ मा धेरै पटक फोन गर्दा पनि फोन उठेन। पछि फोन उठ्दा पनि सम्बन्धित कर्मचारीले आफूलाई यसकाे बारेमा थाहा नभएको र माथिल्लो निकायमा बुझ्न भन्दै फोन ट्रान्सफर गरे पनि तीन घण्टीमै फाेन काटिएको थियो।
बिरामीहरूलाई यस्तो सास्तीमा पारेर पनि अस्पताल प्रशासन जवाफदेही बनेको देखिँदैन।

राजधानीको ठूलो सरकारी अस्पतालकै यो अवस्थाले अन्य प्रदेश र दुर्गम जिल्लाका अस्पतालहरूको सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठेको छ।

यस किसिमको समस्याले अस्पतालको सेवा प्रवाहमा मात्रै होइन, बिरामीहरूको समय र स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ। अस्पताल प्रशासनले यस विषयमा तत्काल ध्यान दिई इन्टरनेट सेवालाई चुस्तदुरुस्त राख्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार