२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

बोलेरोको ठक्करबाट एकको मृत्यु, एक घाइते



सविना शाही

सुर्खेत, साउन ७ गते ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिक आज बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

गुमीबाट सुर्खेततर्फ आइरहेको क.प्र.०२००१ च.०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका दुई जना स्थानीयलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिटका अन्दाजी ३४ वर्षीय प्रेम बुढाको पेट र टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा करिब ११ बजे उनको निधन भएको प्रहरी प्रमुख वकिल सुनारले जानकारी दिए।

यसैगरी, उक्त दुर्घटनामा परी अन्दाजी ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन्। प्रहरीका अनुसार उनको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक अजय डाँगीको नेतृत्वमा १६ जनाको सुरक्षाकर्मी टोली घटनास्थलमा परिचालन गरेको थियो। प्रहरीले बोलेरो चालक लेकबेशी नगरपालिका–६ का २१ वर्षीय यामलाल सुनार र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार