देपेन्द्र बहादुर शाही
काठमाडौं
नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ।
यसअघि नै भ्रष्टाचारी ठहर भएका बस्नेतलाई न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले सोमबार यो फैसला सुनाएको हो। अदालतले बस्नेतको नाममा रहेको २६ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति पनि जफत गर्ने आदेश दिएको छ।
यति मात्र होइन, बस्नेतलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा थप तीन महिना १८ दिन कैद र २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना पनि तोकिएको छ। उनीमाथि करिब ९ करोड २२ लाख रुपैयाँ घुसखोरी गरी कमाएको आरोप लागेको थियो, जसपश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए।
गत पुसमा दायर भएको मुद्दामा बजार मूल्य ४७ करोड ७५ लाख रहेको जग्गा पद्मा कोलोनी प्रा.लीले जग्गाधनीहरूलाई १८ करोड ९४ लाख १८ हजार ४४८ रुपैयाँ भुक्तानी गरी, राजस्व र बैनाबट्टा रकमसमेत गरी २३ करोड २२ लाख २७ हजार रुपैयाँमा राजुप्रसाद कँडेलमार्फत पद्मा कोलोनी प्रालिलाई २४ करोड ५२ लाख ७३ हजारभन्दा कम मूल्यमा बेचेको आरोप बस्नेतमाथि थियो। नेपाली कांग्रेसबाट निर्वाचित बस्नेत अख्तियारले मुद्दा दायर गरेदेखि नै निलम्बनमा थिए।
अदालतले घुस दिने राजु कँडेललाई पनि दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ। यस फैसलाले भ्रष्टाचारविरुद्धको लडाईंमा महत्वपूर्ण सन्देश दिएको छ।










प्रतिक्रिया दिनुहोस्