प्रतिमा शाही
कालिकोट
रास्कोट, कालीकोट: रास्कोट नगरपालिका, जिल्लाको छैटौं पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित भएको छ।
“स्थानीय दायित्व र सहभागिता पूर्ण खोप सुरक्षित भविष्य” भन्ने नाराका साथ मंगलबार नगरपालिकालाई यो घोषणा गरिएको हो। पूर्ण खोप समन्वय समितिको निरन्तर अनुगमनपछि जिल्ला समन्वय समितिकी उपप्रमुख मीना रावत विश्वकर्माले औपचारिक रूपमा रास्कोटलाई पूर्ण खोप पालिका घोषणा गर्नुभएको हो।
नगर प्रमुख धर्मराज शाही (पोषण)को अध्यक्षता र उपप्रमुख मीना रावल विश्वकर्माको प्रमुख आतिथ्यमा भएको घोषणा कार्यक्रममा नगर उपप्रमुख मनिराज बराल, अस्पताल विकास समिति कालीकोटका अध्यक्ष गगन बहादुर मल्ल, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. भीष्म पोखरेललगायत विभिन्न पदाधिकारी र स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।
नगर प्रमुख शाहीले खोपको पहुँच, सेवा प्रभावकारिता र अभिलेख व्यवस्थापनका मापदण्ड पूरा गरेर यो उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले जनस्वास्थ्यको क्षेत्रमा यो गौरवको विषय भएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा प्रतिबद्ध रहने बताउनुभयो। नगर उपप्रमुख बरालले सामुदायिक जनचेतना र स्वास्थ्यकर्मीहरूको अथक प्रयासले यो सफलता मिलेको बताउनुभयो।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. भीष्मप्रसाद पोखरेलले पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसारका सबै मापदण्ड रास्कोट नगरपालिकाले पूरा गरेकोले घोषणा गर्न सहज भएको बताउनुभयो। अस्पताल विकास समिति अध्यक्ष मल्लले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायको सहकार्यले रास्कोटको स्वास्थ्य सेवा सुदृढ भएकोमा खुसी व्यक्त गर्नुभयो। स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले ९ स्थानीय तहमध्ये ६ वटालाई पूर्ण खोप घोषणा गरिसकिएको र बाँकी ३ वटालाई पनि चाँडै घोषणा गरिने जानकारी दिनुभयो।
छोटो रूपमा: कालीकोट जिल्लाको रास्कोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ। विभिन्न मापदण्ड पूरा गरेको र स्थानीय सहभागिता तथा स्वास्थ्यकर्मीहरूको प्रयासले यो सम्भव भएको नगर प्रमुखले बताएका छन्। जिल्लाका अन्य पालिकालाई पनि चाँडै यस्तो घोषणा गरिने जानकारी दिइएको छ।










प्रतिक्रिया दिनुहोस्