विनित कुमार
कालिकोट
पचालझरना — घाँस काट्न जाने क्रममा भिरबाट लडेर ज्यान गुमाएकी ३३ वर्षीया सिद्ध विकको एघारौँ दिनको पुण्यतिथिमा शोक–श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।
गत फागुन १९ गते भएको उक्त दुःखद घटनापछि आज आयोजित कार्यक्रममा आफन्त, जनइष्ट मित्र, स्थानीयवासी तथा सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
दिवंगत सिद्ध विकका दुई छोरा र दुई छोरी रहेका छन्। उनका श्रीमान् वीरेन्द्र बहादुर विक हिमचुली कृषि सहकारी संस्था लिमिटेडमा फिल्ड सहायकका रूपमा कार्यरत छन्।
कार्यक्रममा सहकारी संस्थाको तर्फबाट क्रिया खर्चबापत १० हजार रुपैयाँ, कर्मचारीहरूले संकलन गरेको राहत रकम ४१ हजार ७ सय १० रुपैयाँ तथा कर्मचारी कल्याण कोषबाट १५ हजार रुपैयाँ गरी कुल ६६ हजार ७ सय १० रुपैयाँ आर्थिक सहयोग परिवारलाई हस्तान्तरण गरिएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाकी उपाध्यक्ष दमिला शाही तथा मुख्य सहायक व्यवस्थापक रुपेन्द्र ऐडीले दिवंगत सिद्ध विकको जीवनी वाचन गर्दै उनी हिमचुली कृषि सहकारी संस्थाकी सदस्य रहेको जानकारी दिएका थिए। साथै उनले संस्थाबाट लिएको २ लाख रुपैयाँ ऋण मिनाहा गरिने र बिमा मार्फत २ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने पनि जानकारी गराएका थिए।
कार्यक्रममा रास्कोट शाखा व्यवस्थापक जमुना आचार्य, पचालझरना शाखा व्यवस्थापक पुष्पप्रसाद उपाध्याय लगायत सहकारीका कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुःखको यस घडीमा सहकारी संस्था सधैं सदस्यहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थि
प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्