२०८२ फागुन २७ , बुधबार
ताजा अपडेट:

इनिसा विकको मृत्यु  न्यायको माग गर्दै सुर्खेतमा विरोध र्‍याली



 

अशाेक शाही

सुर्खेत, फागुन २६ —

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी विकको फागुन २३ गते मृत्यु भएको थियो। उनी वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।

प्रहरीका अनुसार विक वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। आफन्तले तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

घटनाबारे मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीसम्बन्धी उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनापछि फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घरपरिवारका अनुसार इनिसा बिहान करिब ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। तर पछि उनी जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको स्पष्ट कारण खुल्ने जनाएको छ।

यस घटनापछि मृतकका आफन्तजन, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूले इनिसालाई न्याय दिलाउन माग गर्दै सुर्खेतमा विरोध र्‍याली निकालेका छन्। र्‍यालीमा सहभागीहरूले
“इनिसालाई न्याय दे”
“हत्यारालाई कडा कारबाही गर”
न्याय किन्न पाइँदैन”

जस्ता नाराहरू लगाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार