२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

जनमुखी एजेन्डासहित देपेन्द्र शाही कञ्चनपुर–१ बाट चुनावी प्रतिस्पर्धामा



 

कञ्चनपुर, माघ ६।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो उम्मेदवारी दर्ता गराएको छ। पार्टीका तर्फबाट ४४ वर्षीय देपेन्द्र बहादुर शाहीले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको हो।

शाहीको उम्मेदवारीसँगै प्रगतिशील लोकतान्त्रिक पार्टीले कञ्चनपुर–१ मा प्रतिनिधिसभा निर्वाचनमा आफ्नो राजनीतिक उपस्थितिलाई थप मजबुत बनाएको छ। निर्वाचन आयोगले तोकेको अनुसार उहाँको चुनाव चिन्ह ‘आँखा’ रहेको छ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले जनमुखी राजनीति, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो। “कञ्चनपुर–१ का नागरिकहरूले लामो समयदेखि भोग्दै आएका समस्या, आवश्यकता र अपेक्षालाई संसदमा प्रभावकारी ढंगले उठाउने मेरो स्पष्ट प्रतिबद्धता छ,” उहाँले भन्नुभयो, “परम्परागत राजनीतिक शैलीभन्दा फरक, परिणाम देखिने काम गर्ने नेतृत्व आजको आवश्यकता हो।”

प्रगतिशील लोकतान्त्रिक पार्टीका स्थानीय नेताहरूले शाहीको उम्मेदवारीले निर्वाचनमा वैकल्पिक, उत्तरदायी र जनतामुखी राजनीतिक धार प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टीले यस निर्वाचनलाई जनताको भरोसामा आधारित राजनीति स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

स्थापित दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुँदै आएको कञ्चनपुर–१ मा देपेन्द्र बहादुर शाहीको उम्मेदवारी दर्तासँगै चुनावी माहोल थप चर्किंदै र रोचक बन्दै गएको छ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार